समाज

नारद आदर्श मावि बसाहामा संस्थापकको शालिक

विद्यालय प्रांगणमा स्थापित शालिक। तस्विरः महेश्वर

उदयपुरको नारद आदर्श माध्यमिक विद्यालय (१–१२) बसाहामा संस्थापक स्वर्गीय नारदमुनि थुलुङ राईको प्रतिमा (शालिक) स्थापना गरिएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित विद्यालयको प्रांगणमा संस्थापक राईको शालिक स्थापना गरिएको हो।  

फाईबर प्रबिधिको ६ फिट उचाईको शालिक निर्माणमा ३ लाख ३९ हजार ९ सय ९८ रुपैँया खर्च भएको प्रधानाध्यापक कविराज तामाङले बताए। प्रअ तामाङका अनुसार संस्थापकको सम्मानका लागि विद्यालयको आन्तरिक स्रोतबाट शालिक निर्माण गरिएको हो। नवस्थापित शालिकको चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले एक कार्यक्रमका बीच अनाबरण गरेका हुन्।  

विद्यालयको २८ औँं अभिभावक दिवसको अवसर पारेर मंसिर २५, २६ र २७ गते गरी ३ दिन आयोजित कार्यक्रमको समापनको अवसरमा प्रमुख अतिथि रहेका मेयर लामाले शालिकको अनावरण गरेका हुन्। अभिभावक भेलाको अवसरमा विद्यालयले सरसफाई, नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता र महिला तथा पुरुष भलिवल प्रतियोगिता पनि आयोजना गरेको छ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम राईले ००७ सालका क्रान्ति योद्धा थुलुङले तत्कालीन घना जंगल फँडानी गरेर बसाहामा एकैचोटी सयौं घर बस्ती बसाएर सो विद्यालय स्थापना गरेको बताए। झोडा फँडानी गरी बसेको नयाँ बस्तीबासीका बालबालिकाको शिक्षादीक्षाका लागि विद्यालय खोलेर जीवन पर्यन्त त्यसको स्तरोन्नति र विकासमा लागेको स्मरणमा उनको शालिक स्थापना गरिएको अधयक्ष राईले बताए।  

राईका अनुसार थुलुङलाई त्यसक्षेत्रमा अत्यन्त सम्मानका साथ हेर्ने गरिन्छ।  सम्मानकै खातिर विद्यालय प्रांगणमा स्मरणका लागि उनको शालिक निर्माण गरिएको उनले बताए। उनका अनुसार सम्मानकै लागि विद्यालयको नाम पनि ‘नारद आदर्श माध्यामिक विद्यालय’ राखिएको छ।  

विद्यालय परिसरसँगै जोडिएको बर्खेडाँडामै सञ्चालित क्याम्पस पनि थुलङकै नामबाट राखिएको छ। त्यहाँ सञ्चालित ‘नारद आदर्श शिक्षा क्याम्पस’ बिगत दशकदेखि सञ्चालन हुँदै आएको छ। शिक्षा संकायमा स्नातकसम्म पठनपाठन हुने सो क्याम्पसमा हाल दुईसय हाराहारी विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख ध्रुब राईले बताए। क्याम्पस परिसरमा पनि निकट भविष्यमा राईको शालिक राख्ने योजना रहेको प्रमुख राईले बताए।

बसाहा क्षेत्रबासीका लागि पुज्य र सम्मानित मानिने थुलुङको शालिक बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा पनि उनको शालिक निर्माण भएको छ। दशकअघि नै स्थापना भएको शालिक हाल मदन भण्डारी सडक निर्माण हुँदा भने ३ फिट पुरिएर होचो हुन पुगेकाले अर्को निर्माण गर्नुपर्ने माग स्थानीयले गरेका छन्।  

प्रकाशित: २९ मंसिर २०७९ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App