समाज

अब नेपालकै उच्चमाविमा जापानी भाषा पढाइने

काठमाडौं– पछिल्लो समयमा जापानमा अध्ययन र रोजगारीका लागि जापानी भाषा अध्ययन गर्नेहरुको संख्या बढिरहेका बेला काठमाडौंकै एक उच्चमाविले कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गर्ने भएको छ।  

उच्चमाध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएर काठमाडौंको बाफल सीतापाइलास्थित ग्रिनफिल्ड नेशनल उमाविले जापानी भाषाको औपचारिक अध्यापन सुरु गरेको हो। अरु ऐच्छिक विषय झैं जापानी भाषा अध्ययन गर्ने विद्यार्थीले ११ र १२ मा एक–एक सय पूर्णाङकको परीक्षा दिनु पर्नेछ।

बिहीबार रिपोर्टर्स क्लबमा विद्यालयका प्राचार्य खड्गबहादुर बस्नेतले इन्स्टिच्यूटमा जापानी भाषा सिकेर जापान उच्च शिक्षाको लागि जाँदा थप भाषा कक्षा लिनुपर्ने बाध्यतालाई यो पढाइले अन्त्य गर्ने दाबी गरे। कक्षा ११, १२ मा जापानिज भाषा अध्ययन गरेकाले जापानमा सिधै उच्च शिक्षामा भर्ना हुन सक्ने उनको दाबी छ। नेपालमै जापानी पर्यटकलाई गाइड गरेर रोजगारी गर्न चाहनेहरुका लागि यस विषयले अवसर दिने उनले बताए।  

विश्वाभाषा क्याम्पसले अनौपचारिक रुपमा भाषा शिक्षा दिइरहेको भएपनि औपचारिक शिक्षाको अभावमा समस्या देखेर आफूहरुले इच्छुक विद्यार्थीका लागि यस्तो सुविधा उपलब्ध गराएको बताए।

 

प्रकाशित: ९ असार २०७३ ०९:४१ बिहीबार

अब नेपालकै उच्चमाविमा जापानी भाषा पढाइने