समाज

मुग्लिन नारायणगढ सडक १४ घण्टापछि खुल्यो

चितवन–वर्षाका कारण पहिरो गएर बुधबार राति नौ बजेदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड १४ घण्टापछि बिहिबार मध्यान्ह ११ बजेदेखि खुलेको छ। मुग्लिन नारायणगढ सडक दुई लेनको बनाउने काम सुरु भएसँगै पहाड काटेको ठाउँमा पहिरो गएर दुख दिन थालेको हो । बुधबार राति गएको पहिरो अहिलेसम्मकै ठुलो भएको सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

राति नौ बजे पहिरो गएपछि ११ बजेबाट पन्छाउन सुरु भएको थियो । मुग्लिन बजारदेखि चार किलो मिटर पश्चिम चण्डिभञ्ज्याङ गाविसको चार किलो भन्ने ठाउँमा पहिरो जाँदा रोकिएको बाटो पहिरो हटेपछि अहिले ११ बजेबाट खुलेको हो । तत्कालका लागि बाटो दुई तर्फी नै खुलेको इन्जिनियर खनालले बताए । सो सडकमा पहिरोको सम्भावना हरदम रहेको हुन्छ ।

 

प्रकाशित: ९ असार २०७३ ०६:१८ बिहीबार

मुग्लिन नारायणगढ सडक १४ घण्टापछि खुल्यो