समाज

'मर्निङ वाक जोन' बन्यो भक्तपुरको कमलपोखरी

भक्तपुरको विनायक पोखरी मर्निङ वाक जोन (दैनिक विहानविहान हिँडडुल गर्ने केन्द्र) बनेको छ। पोखरीमा दैनिक बिहान मर्निङ वाक गर्न आउनेहरूको भीड नै हुने गर्दछ। मर्निङ वाकका लागि भक्तपुर नगरका विभिन्न टोलका साथै नजिकैको चाँगुनारायण नगरपालिकाका विभिन्न वडाहरूबाट पनि यहाँ पुग्ने गरिन्छ।

सहरको घनावस्तीको छेउमा रहेको भक्तपुरको यो पोखरी हिजोआज सवैका लागि मन बहलाउने ठाउँ पनि बन्दै आएको छ। पोखरीमा दैनिक हजारौँ मानिस घुम्न आउने गरेका छन्। दिउँसोका समयमा पोखरीमा काठमाडौं उपत्यकाकै ठाउँ ठाउँबाट घुम्ने आउने पनि प्रशस्तै भेटिन थालेका छन्।

भक्तपुर गोल्मढीका जननीप्रसाद मूल दैनिक बिहान पोखरीमा मर्निङ वाक गर्न आउने बताउँछन्। आफूमात्रै नभई पोखरीमा दैनिक जताततैबाट मर्निङ वाक गर्न आउनेहरूको संख्या अत्यधिक हुने उनी सुनाउँछन्। घरमा बसेर रोग पाल्नु भन्दा बिहानको समयमा यसो हिँडडुल गरेर आफूलाई स्वास्थ्य राख्नका लागि धेरैमा मानिस पोखरीमा मर्निङ वाक गर्न पुग्ने उनको भनाई छ।

पोखरी भक्तपुर नगरको दक्षिण पूर्वमा रहेको छ। पोखरी भक्तपुर नगरपालिका वडा नं १० मा कमलबिनायकमा पर्छ। भक्तपुरबाट काठमाडौं आउने विनायक बसपार्कसगै पोखरी जोडिएको छ। साथै भक्तपुरबाट नगरकोट जाने विनायक बसपार्क पनि यो पोखरीसँग जोडिएको छ।

पोखरीमा दैनिक बिहान घुम्न आउने बताउने भक्तपुरकै क्वाठण्डौंका ४२ वर्षीय बलचन्द्र श्रेष्ठ सवैतिर घना बस्तीले भरिएकोले खुल्ला अनि मनोरम ठाउँ पोखरी रहेकोले दैनिक आउने गरेको बताउँछन्। दैनिक बिहान पोखरीमा आइ पाँच सात चक्कर लगाएर घर जाने उनी बताउँछन्।

पोखरी ठुलो छ। एक चक्कर घुम्नका लागि नै झण्डै पाँच मिनेट लाग्ने गर्दछ। पोखरी २० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको जनाइएको छ। साथै पोखरी वरिपरिको बाटो, बगैँचा, मन्दिर, उद्यानलगायतका स्थान गरी २५ रोपनी भन्दा बढी क्षेत्रफलमा रहेको जनाइएको छ।

पोखरीको चारैतिर बसेर माछालाई खुवाउन मिल्ने, पोखरीको चारैतिर घुम्न मिल्ने लगायतका कारण पोखरी थप आकर्षक छ। पोखरीको चारैतिर बसेर आनन्द मान्नेहरू पनि त्यत्तिकै भेटिन्छन्। पोखरीमा बिहान सबेरैदेखि रातिसम्मै पनि पर्यटकमा आउने स्थानीय बताउँछन्। स्थानीयका अनुसार शनिबार बाहेक सार्वजनिक बिदाका दिन, स्थानीय जात्रा पर्वलगायतका दिन यहाँ घुम्न आउनेहरूको भीड नै लाग्छ।

साथसाथै साँझ र बिहानको समयमा पनि उतिकै घुम्न आउने गर्दछन्। सबेरै मर्निग वाकमा आउनेदेखि दिउँसो बेलुकी डेटिङमा आउने सबैको प्रिय स्थल बन्ने गरेको छ पोखरी। 

पोखरीको मुख्य आकर्षण त्यहाँ पालिएका माछा हुन्। पोखरीमा पालिएका माछालाई भुजा, मस्यौरालगायतका खाना खुवाउनमा दिउँसो आउने पर्यटकले ज्यादा सन्तुष्टि लिने गरेका छन्।

विनायक मन्दिर सुधार समितिले पोखरीको सर सफाई लगायतका कार्य गरी सुन्दर बनाएपछि पोखरीप्रति पर्यटकको आकर्षण बढेको हो। समितिले पोखरीमा माछा पालिराखेको छ। साथै पोखरी वरिपरि चारैतिर वृक्षारोपण गरी फूलबारीको बनाएको छ। साथै यहाँ पिकनिक मनाउनेका लागि पनि स्थान उपलब्ध गराइने गरेको छ। समितिले यहाँका पाटी पौवा, मन्दिरको जीर्णोद्धार गरेको छ भने पोखरी वरिपरिको फराकिलो बाटोलाई ई टाले बिछ्याएर सुन्दर पारेको छ।

विनायक मन्दिर सुधार समितिका अध्यक्ष तीर्थमान दुमरुले पोखरीलाई राम्रो पार्ने काम निरन्तर जारी रहेको बताए। २०६१ सालदेखि समितिले पोखरीलाई आकर्षक बनाउन सक्रियतापूर्वक लागेको उनी सुनाउँछन्। रातको समयमा पनि आकर्षक बनाउन पोखरीको चारैतिर सोलार बत्तीको बन्दोबस्त छन्। समितिले पोखरीको हेरचाहका लागि तीन जना कर्मचारीको समेत व्यवस्था मिलाउँदै आएको छ।

पोखरीमा आउने पर्यटकले फाल्ने फोहोर टिपनटापन गर्न, बगैँचा हेर्न, पोखरीमा पालिएका माछा हेरचाह गर्न, शौचालयको सरसफाई र पोखरी वरिपरि रहेका विजुलीवतीलाई व्यवस्थित गर्न कर्मचारीको व्यवस्था गर्दै आएको हो।

भक्तपुर नगरमा साना ठुला गरी यस्ता ३४ वटा पोखरी रहेको तथ्याङ्क छ। तीमध्ये अहिले आकर्षण केन्द्रको रुपमा रानीपोखरी, सिद्ध पोखरी र विनायक पोखरी बन्न थालेको छ। यीबाहेक यहाँ नपुखू, भाजुपोखरीलगायतका पोखरीहरू पनि छन्।

प्रकाशित: २८ मंसिर २०७९ १३:२२ बुधबार