समाज

एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड

ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।

एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनिहरुको सुझाव छ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए। नेपालले हाल वार्षिक दुई खर्बभन्दा बढीको इन्धन आयात गर्दै आएको छ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने उल्लेख गर्दै सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जोड दिने सरकारको लक्ष्य रहेको बताए।

सरकारी तथ्याङ्कअनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपाली नागरिकको सङ्ख्या ८७ दशमलव एक प्रतिशत रहेकामा यस वर्षको हालसम्ममा सो दर २२ प्रतिशतले घटेको छ। दाउरा, गुइठालगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपाली नागरिक ६५ प्रतिशत हाराहारी छन्।

सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग शून्य दशमलव सात प्रतिशत रहेकामा सो दर बढेर हाल तीन प्रतिशत पुगेको केन्द्रका नायब कार्यकारी निर्देशक ढकालले जानकारी दिए। रासस

प्रकाशित: २७ मंसिर २०७९ १३:५१ मंगलबार