समाज

१६ किलो अफिम सहित ३ महिला पक्राउ

कपिलवस्तुको कृष्ण नगर भन्सार कार्यालय नजिकबाट १६ किलो अफिम सहित ३ महिला पक्राउ परेका छन्।

प्रहरीले बिशेष सुराकीको आधारमा दाङ तुलसीपुर उप महानगरपालिका मानपुर वडा नम्बर १७ की ४३ बर्सिया आशा कुमारी बुढा, लमही नगरपालिका वडा नम्बर ४ की ४८ बर्सिया निर्मला बिक र ३६ वर्षीय भावना पुन मगर अफिम सहित पक्राउ परेका हुन्।

उनीहरु पैदल नेपालबाट भारत तर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरी खानतलासी लिँदा कम्मरमा राखिएको अवस्थामा अफिम बरामद भएको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेयले बताए।

पक्राउ परेका ३ जनाले कम्मरमा सेता कपडाले सिलाएर राखेको अवस्थामा अफिम भेटिएको थियो। पक्राउ परेका ३ जनालाई सोधपुछ र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

कृष्ण नगर र गणेशपुर नाका लागु औषध ओसारपोसरको ट्रान्जिट प्वाइन्ट बन्दै आएको छ। भारत तर्फका सुरक्षाकर्मीले समेत नेपालबाट छिरेका महिला र पुरुषहरूलाई केही महिना पहिले पक्राउ गरेको थियो।

प्रकाशित: २६ मंसिर २०७९ १६:२७ सोमबार