समाज

हातमा जुत्ता हिलोमा खुट्टा

भक्तपुर- नगरपालिका क्षेत्रभित्र परेको सडकमा हिडडुल गर्न पनि गाउँको वाटोमा जस्तै जुता हातमा बोकेर हिड्नुपर्छ भन्दा धेरैलाई विश्वास नलाग्ला। तर भक्तपुरको व्यासीदेखि चाँगुनारायण नगरपालिकाको साविकको झौखेल गाविस पुग्ने व्यासी झौखेल सडकको अवस्था भने यस्तै छ। दैनिक हजारौं बटुवा जुत्ता हातमा लिएर सडकमा हिडडुल गर्न बाध्य छन्। जुत्ता लगाएर हिड्दा चिप्लेर लडने डर भएकाले वटुवाहरु जुत्ता हातमा लिएर हिड्छन्।

सडक हिलाम्य भएकै  कारण त्यहाँ एक महिनादेखि यातायातका साधन पनि चल्न सकेका छैनन्।  भक्तपुर मिनीबस सेवा समिति अन्तर्गत चल्ने रुट नं ७ को झौखेलदेखि काठमाडौंको सार्वजनिक यातायातका साथै अन्य सवारीसाधन पनि ठप्प छन्।

भक्तपुर मिनीबस सेवा समितिका सचिव दिनेश प्रधानले हिलाम्य सडकका कारण जेठ महिनादेखि नै त्यहाँं चल्ने मिनीबस सेवा वन्द गरिएको जनाए। हिलाम्य सडक भएकै कारण साइकल, मोटरसाइकललगायतका हलुका सवारीसाधन पनि चलेका छैनन्। 

सडककै दुर्दशाका कारण झौखेल गाविसबासीको जनजीवन अस्तव्यस्त भएको छ। झौखेल भएर दैनिक भक्तपुर पुग्नुपर्ने स्कुलका विद्यार्थी, कर्मचारीदेखि धेरै मानिसहरु एक महिनादेखि प्रभावित छन्। सडकमा सवारीसाधन सञ्चालन नहुँदा स्कुल जाने विद्यार्थी स्कुल जान पाइरहेका छैनन्। झौखेलमा विद्यार्थी लिन एभरेष्ट इंगलिश स्कुल व्यासी, प्रभात उच्च मावि व्यासी, कम्युनिकेटिभ इंगलिश स्कुल जगाती, जेन्युइन इंगलिश स्कुल देकोचा, महेन्द्र विद्या आश्रम सूर्यविनायकलगायतका दर्जन स्कुले बस दैनिक विद्यार्थी लिन झौखेल पुग्थे। तर सडककै कारण गाडी गुडन नसकेपछि ती विद्यार्थी लामो पैदल यात्रा गरेर विद्यालय आउन नसक्ने भएका छन्। साथै मोटरसाइकलसम्म चलाउन नमिल्दा दैनिक कार्यालय आउनुपर्ने कर्मचारी पनि प्रभावित छन्।

दैनिक उक्त सडक भएर आवतजावत गर्नुपर्ने कम्युनिकेटिभ इंगलिश स्कुल जगाती भक्तपुरका प्रिन्सिपल जनीकुमार राईले सडक पानी जहाज चलाउन योग्य रहेको टिप्पणी गरे। उनले व्यंग्य गर्दै भने, 'व्यासीदेखि झौखेल सडकखण्डमा गाडी हैन पानी जहाज चलाए हुन्छ। सम्वन्धित निकायले जलमार्गको काम थालेर तेस्रो मुलुकसँंग व्यापार गर्न मेरो अनुरोध छ।'

झौखेलस्थित सुरुवात नामक गैर सरकारी संस्थाका सञ्चालक राजेश दिदिया महिना दिन अगाडिदेखि हिलाम्य सडकै कारण मोटरसाइकलसम्म चलाउन नमिल्दा हैरान भएको बताउँंछन्। हिलाम्ये सडकका कारण सडकमा चप्पल लगाएरसम्म हिड्न मिल्दैन।

सडक निर्माणाधिन अवस्थामा छ। साढे सात किलोमिटर चौडा सडकको बीचमा ठूल्ठूला ढलानको ढ्वांग (पाइप) विछ्याउने कार्य सम्पन्न भएको छ। ढ्वांग विछ्याउन डोजरले पूरै बाटो खन्दा कालोपत्रे अनि ग्राभेलको यो सडक अहिले माटे सडक जस्तै बनेर चिप्लो अनि हिलाम्य भएको हो। जेठ महिनादेखि नै दैनिकजसो पानी पर्न थालेपछि यो सडक रोपाई गर्न ठिक्क भएको खेत जस्तै भएको छ। 

डिभिजन सडक कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख देवन्द्रप्रसाद शाहले दुई वर्षभित्रमा सडक बनाउने कार्य सम्पन्न  गर्ने योजना रहेको जनाए। व्यासीदेखि झौखेलसम्मको दुई किलोमिटर सडकलाई साढे सात मिटर चौडाईको फराकिलो बनाउने कार्ययोजना छ।  निर्माणको लागत आठ करोड रुपैयाँको रहेको उनले बताए।

प्रकाशित: ६ असार २०७३ ०३:३० सोमबार

हातमा जुत्ता हिलोमा खुट्टा