समाज

रौतहटमा बढ्यो ट्रान्सफर्मर चोरीका घटना

रौतहटमा ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएको छ। केही महिनादेखि लगातार ट्रान्सफर्मर चोरी भइरहेको र सोमवार पनि एउटा ट्रान्सफर्मर चोरी भएबाट यसको पुष्टि भएको छ।

रौतहटको गरुडा नगरपालिका १ जयनगरबाट सोमवार ट्रान्सफर्मर चोरी भएको हो। यस अघि गत १९ गते मौलापुर नगरपालिका ७ पथरा बुधरामदेखि हनुमान चौक जाने बाटोको बिचमा रहेको ट्रान्सफर्मर चोरी भएको थियो। यसै गरी केही महिना पहिले कटहरिया नगरपालिकाबाट पनि ट्रान्सफर्मर चोरी भएको घटना सार्वजनिक भएको थियो।

पछिल्लो समय ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएपछि धेरै ठाउँमा खेतीपाती तथा बस्तीमा अँध्यारो भएको छ। कृषिमा सिँचाइ गर्नको लागि तथा घरमा उज्यालो बाल्नको लागि बिजुलीको प्रयोग बढ्दै जाँदा ट्रान्सफर्मर चोरीको घटनाले धेरैलाई समस्यामा पारेको स्थानीयको भनाइ छ।

गरुडा नगरपालिका १ जयनगरका एक जनाले ट्रान्सफर्मर चोरी भएपछि निकै समस्या भएको बताएका छन्।

लाखौँ मूल्य पर्ने ट्रान्सफर्मर चोरी हुन थालेपछि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिएको छ। नागरिक समाजका गौरका विजय किशोर झाले ट्रान्सफर्मर चोरीका घटनाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सर्वसाधारणले पाउनुपर्ने सुविधा तत्काल संचालन गराउन पनि माग गरेका छन्।

प्रकाशित: २६ मंसिर २०७९ १३:१७ सोमबार