समाज

३० करोड क्षतिपूर्ति माग गर्दै चम्पावती हाइड्रोपावरद्वारा ८ जना विरुद्ध जाहेरी

शनिवार स्थानीयले आगजनी गरेको चम्पावती हाइड्रोपावरको घर, गाडी लगायत।

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको चम्पावती हाइड्रोपावरले ३० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला प्रहरी कार्यालय गोरखामा सोमवार जाहेरी दर्ता गरेको छ।

पुष्पराज खनाल, श्रीकृष्ण पौडेल सहित ८ जना विरुद्धको प्रहरी कार्यालयमा जाहेरी दिइएको आयोजनाका इन्जिनियर हरिकृष्ण पौडेलले बताए। लमजुङको राईनास नगरपालिका स्थित राईनासटार सिँचाइ आयोजनामा क्षति पुग्ने गरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै स्थानीयले शनिवार गोरखाको सिरानचोक गाउँपालिका २ पाण्डेवेशीमा रहेको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।

भौतिक संरचना, सवारी साधनको तीन करोड ४० लाख र आयोजनाको निर्माणमा ढिलाई, लागत बढ्ने, उत्पादन ढिलो हुँदाको घाटा सहित ३० करोड क्षति भएको चम्पावती हाइड्रो पावर कम्पनीले जनाएको छ।

अहिले एक सय ५० जना कामदार काम विहीन भएको इन्जिनियर पौडेलले बताए। ‘अहिले काम गर्ने वातावरण नै छैन, हरेक दिन क्षति थपिँदो छ’ उनले भने ‘प्रतिनिधिमूलक रुपमा बर्ता छलफल गरेको भए हुन्थ्यो, एक्कासि आएर प्राविधिक कुरा नबुझी स्थानीयले तोडफोड र आगजनी गरे।’

आयोजनाले स्टमेट परिवर्तन गरी नहर भन्दा दुई सय मिटर पानी झार्ने गर्ने काम गरेको भन्दै किसान आक्रोशित बनेका राईनासका स्थानीय श्रीकृष्ण पौडेलले बताए। नहरभन्दा तल पानी झार्दा खेतमा पानी लैजान समस्या हुने भन्दै यसअघिपनि पटक–पटक स्थानीय र जलविद्युत आयोजना बिच छलफल हुँदा स्थानीयको मागलाई बेवास्ता गरेको उनले बताए। निर्माणाधीन चम्पावती जलविद्युत आयोजनाका कारण बाह्र सय हेक्टर क्षेत्रफलमा फैलिएको खेत सुख्खा हुने भन्दै स्थानीय आक्रोशित छन्।

आयोजनाका अध्यक्ष हरिराम पराजुलीले भने स्टमेट परिवर्तन नभएको र चर्चा गरिएजस्तो नहरको मुहान भन्दा तल पानी झर्ने कुरा झुटो भएको बताए। ‘खेतमा पानी नजाने भन्ने कुरा छैन, हामीले स्टमेट अनुसार नै काम गरिरहेका छौँ’ उनले भने। चैत मसान्त सम्म निर्माण सक्ने गरी काम भइरहेको बेला यस्ता घटनाले निर्माण अन्योल हुने कम्पनीले जनाएको छ। आयोजनाको हाल सम्म ७० प्रतिशत काम सकिएको अध्यक्ष पराजुलीले बताए।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले केही व्यक्तिको नाम सहित जाहेरी आएको र घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी कानुनी प्रक्रियामा छौँ’ उनले भने ‘कम्पनीले सोमवार मात्रै जाहेरी दिएको छ।’

प्रकाशित: २६ मंसिर २०७९ ११:४३ सोमबार