समाज

महिला पत्रकारको नौबुँदे घोषणापत्र

काठमाडौं- नेपाल प्रेस युनियन महिला विभागले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनसँगै महिलालाई वृत्तिविकासमा समान अवसरका लागि जोड दिएको छ। राजधानीमा शनिबार सम्पन्न विभागको दुईदिने राष्ट्रिय भेलाले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनको मागसहित नौबुँदे घोषणापत्र जारी गरेको छ। सबै सञ्चारगृहमा कर्मचारी तथा पत्रकारको दरबन्दीमा कम्तीमा ३३ प्रतिशत महिला राख्नुपर्ने माग पनि भेलाको छ।

पत्रकारलाई स्वास्थ्योपचारमा ५० प्रतिशत छुट दिने सरकारी घोषणाको स्वागत गर्दै भेलाले पत्रकार महिलाका हकमा शतप्रतिशत छुट व्यवस्था गर्नुपर्ने मागसमेत गरेको युनियनकी महिला संयोजक बाला अधिकारीले बताइन्। 'युनियनभित्रै पनि महिला प्रतिनिधित्व बढाउन पहल गरिनेछ,' उनले भनिन्, 'पार्षद चयनमा एक तिहाइ महिला हुनुपर्छ।'

महिलालाई पत्रकारितामा निरन्तर रहिरहने वातावरण नबनेको भन्दै महिला पत्रकारलाई सार्वजनिक बिदासहित तीनमहिने सुत्केरी बिदा, किरिया तथा शोक बिदा व्यवस्था गर्नुपर्नेमा भेलाको जोड छ। भेलामा प्रेस युनियनमा आबद्ध देशभरका पत्रकार महिलाको उपस्थिति थियो।

प्रकाशित: ५ असार २०७३ ०२:२७ आइतबार

महिला पत्रकारको नौबुँदे घोषणापत्र