समाज

संघीयताको प्रभाव: सदरमुकाम सुनसान, गाउँमा चहलपहल

विगतमा निकै चहलपहल हुने जिल्ला सदरमुकाम संघीयता पछि सुनसान बनेको छ। संघीयतामा भएको विकेन्द्रकीरणले गाउँमा भने चहलपहल बढेको छ। तर सदरमुकाममा बस्नेले निराशा व्यक्त गर्न थालेका छन्। 

जुम्लाको सदरमुकाम खलंगामा पनि सुनसान बन्न पुगेको छ भने गाउँमा गुल्जार हुन थालेकाे छ। विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन्। अधिकार पनि स्थानीय तहमा पुग्दा गाउँको गुल्जार बढ्न थालेको हो। संघीयता आइसकेपछि विभिन्न व्यवसाय पनि सुस्त हुँदै गएको देखिन्छ। जुम्लाको मुटु मानिएको खलंगा प्रशासनिक होस् या अन्य हिसाबले निकै चाप हुन्थ्यो। तर, हिजोआज सुनसानजस्तै बनेको छ। 

अहिले मालपोत र नापी कार्यालयबाट हुने कामकाज मात्रै भइरहेका छन्। जुम्लाको बजार मात्रै होइन अहिले सदरमुकाम पछिको विशाल बजार नराकोट,गोठिज्युलामा विभिन्न स्थानबाट आउने सर्वसाधारणको चापसमेत निकै घटिसकेको छ। सदरमुकाम खलंगामा जिल्ला विकास समितिको कार्यालय रहेकाले सेवाग्राही केही न केही काम लिएर आउने गर्थे। सामान्य गाउँका योजना होस् या अन्य कार्यक्रमका लागि जिल्ला विकास समिति धाउनेको चाप नै हुन्थ्यो। तर, अहिले सबै अधिकार गाउँमा पुगेपछि सदरमुकाम खलंगा नै सुनसान बन्न थालेको छ। यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर व्यवसायीलाई परेको छ। बजारमै चहलपहल घटेपछि स्थानीय पनि चिन्तित छन्। 

जिल्ला तहको अधिकार गाउँमा पुगेपछि जिल्ला सदरमुकामा रहेका दर्जनभन्दा भन्दा होटल बन्द भएको होटल व्यवसायी संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले बताए। उनले निर्वाहमुखी रूपमा सञ्चालन भएका सदरमुकामका दर्जनभन्दा बढी होटल बन्द भएको बताए। जिल्ला सदरमुकाममा हुने कामहरु  जुम्लाका ८ वटा स्थानीय तहमा विभाजित हुँदा चलहपहल घटेको हो। अन्य व्यवसायमा पनि त्यस्तै हालत छ। पछिल्लो समय भाडा तिर्न मुस्किल परेकाले बन्द गर्ने अवस्था आएको छ।

 स्थानीय तह गठनपछि नागरिकमा सदरमुकामप्रतिको आकर्षण पनि घट्दै गएको छ। त्यसैले घरजग्गा कारोबारमा पनि सुस्तता छाएको छ। एकाएक वृद्धि भएको जग्गाको कारोबार अहिले खस्किएको बैंक तथा वित्तीय संस्था प्रमुखहरू बताउँछन्। यतिबेला गाउँगाउँमा सडक सञ्जाल पुगेका छन्। जिल्ला भित्रिएका सडक सञ्जालले पनि खलंगा बिर्साएको छ। जसले गर्दा सदरमुकामतर्फ स्थानीयको आकर्षण कम देखिन्छ।

प्रकाशित: २५ मंसिर २०७९ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App