समाज

दुई अधिकारकर्मी सम्मानित

७४औं अन्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दुईजनालाई सम्मानित गरिएको छ। शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच माइती नेपाल विराटनगरका विनोद पोखरेल र जागरण नेपाल विराटनगरकी प्रतिक्षा बस्नेतलाई सम्मान गरिएको हो।

राष्ट्रिय मानवअधिकार आयाश १, मानवअधिकार सञ्जाल, मानवअधिकार रक्षक सञ्जालगायतले संयुक्त रूपमा उनीहरूलाई सम्मानित गरेको हो। सम्मानित हुनेहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गरे। कार्यक्रममा विराटनगर महानगर प्रमुख कोइरालाले मानवअधिकारको संरक्षण र रक्षाका लागि महानगरपालिका संवेदनशील रहेको बताए।

जिल्ला समन्वय समिति (जिसस) मोरङकी उपप्रमुख उषा झाले जिसस मानवअधिकार रक्षाका लागि थप क्रियाशील भएर अघि बढ्ने बताइन्। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, मानवअधिकार रक्षकहरूलगायतको सहभागिता थियो।

प्रकाशित: २५ मंसिर २०७९ ०१:०८ आइतबार