समाज

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

काठमाडौं– काठमाडौँ महानगरपालिकामा रहेका कुकुरको तथ्याङ्क लिने काम सकिएसँगै बन्ध्याकरणको काम सुरु भएको छ।

विभिन्न स्थानमा छाडा रूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक कुकुर उत्पादन भएकाले बन्ध्याकरणको काम सुरु गरिएको कामपा, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

व्यवस्थापनको पहिलो चरणअन्तर्गत सिंहदरबारमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गर्न सुरु गरिएको हो। त्यसपछि महानगरका अन्य स्थानमा उक्त कामलाई निरन्तरता दिइनेछ। तथ्याङ्कानुसार सिंहदरबारमा १२१ तथा महानगरका ३५ वटै वडामा गरी कुल २१ हजार ७ सय ५० सामुदायिक कुकुर रहेको बताइएको छ।

सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्न रहर गर्ने र पालेको कुुकुर बूढो र बिरामी भएपछि त्यसलाई सडकमा छाड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ।

सो अभियानका लागि रु. तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । अभियान सफल पार्न 'ह्युमन सोसाइटी' र महानगरपालिका दुवै सक्रिय रुपमा लागिरहेका छन्। रासस

प्रकाशित: ७ वैशाख २०७३ ०३:१२ मंगलबार

महानगरका २१ सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी