समाज

न्यायिक समिति गठनको माग गर्दै कार्यालय प्रमुखलाई नगरपालिका उपप्रमुखकाे निवेदन

वृन्दावन नगरपालिकाकी उपप्रमुख संगीता कुमारी राम।

स्थानीय तहको निर्वाचन भएको करिब सात महिना बित्न लाग्दा पनि न्यायिक समितिहरु गठन हुन सकेका छैनन्। न्यायिक समिति गठन नहुँदा एकातिर सर्वसाधारण न्याय पाउनबाट वञ्चित भएका छन् भने अर्कोतिर पालिका उपप्रमुखहरुले आफ्नो कर्तव्य निर्वाह गर्न पाउन सकेका छैनन्।

पालिका उपप्रमुखहरु भूमिकाविहीन हुँदा आफ्नो भूमिकाको खोजी गरिरहेका छन्। यसै क्रममा रौतहटको वृन्दावन नगरपालिकाकी उपप्रमुख संगीता कुमारी रामले प्रमुख प्रशासकीय अधिकृतसमक्ष न्यायिक समिति गठनका लागि निवेदन दिएकी छन्।  

गत भदौ २६ मा नै कार्यालय प्रमुख समक्ष निवेदन दिएकी उपप्रमुख रामले मंसिरमा पनि सोही व्यहोरालाई सम्झाएकी छन्। उपप्रमुख पद सम्हालेदेखि जनताले न्यायिक समितिबाट न्याय पाउने आशा राखेकोमा अहिलेसम्म न्यायिक समिति गठन नहुनु दुर्भाग्य भएको बताएकी छन्।

उपप्रमुख रामले न्यायिक समितिको गठनको व्यवस्था गरिदिनका लागि र आवश्यक कागजपत्रका साथै किताब र स्टेशनरीहरु पनि प्रदान गरिदिन हुनका लागि अनुरोध गरेकी छन्।

रौतहटमा १८ स्थानीय तहमध्ये कुनै पनि तहमा न्यायिक समिति गठन हुन सकेको छैन।

प्रकाशित: २४ मंसिर २०७९ ०४:४५ शनिबार

वृन्दावन नगरपालिका