समाज

बुढेसकालमा मौरीसँग रमाउँदै अमृता रावल

जुम्ला तातोपानी गाउँपालिका –२ डागीवाडाकी ७२ वर्षीया अमृता रावललाई एकछिन फुर्सद छैन। मौरीको रेखदेख गर्ने, आहारा दिनेदेखि मह निकालेर प्रशोधन गर्ने काममा उनी व्यस्त छिन्। विगत २५ वर्ष पहिले ५ वटा घारमा मौरी पाल्न सुरु गर्दा उनी जिल्लाकै पहिलो मौरीपालक महिला बनिन्। मौरीले टोक्छ भन्दै घारनजिकै जान डराउने बेला अमृता मौरी पाल्न लागिपरेकी थिइन्। अहिले ५० घार मौरी पालिरहेकी उनी आँगनमा भुनभुन गर्दै मौरी घुम्दा निकै रमाइलो मान्छिन्। र खुसी हुन्छिन्। मौरीपालन अमृताका निम्ति आयआर्जनको बाटो मात्रै होइन, यो त उनको मन भुलाउने माध्यम पनि भइसकेको छ।  

बिहानैदेखि उनी मौरीले खाएरनखाएको ख्याल गर्छिन्। कस्तो अवस्थामा बसिरहेको छ भन्ने हेरेर उनीहरूको समस्या चाल पाउँछिन्। वर्षायाममा घरआँगनमै विभिन्न जातका फूल फुल्छन्। मौरी तिनै फूलको रस चुसेर भोक मेटाउँछ। तर सुक्खा हिउँदे याममा चिनी–पानी दिनेदेखि संकलित मह राखिदिएर तिनलाई बचाउनुपर्छ। गाउँमा मौरीको आमा भनेर चिनिएकी अमृताको छेउमा अक्सर मौरी भुनभुनाउँदै उनको शरीरमा बसिरहेकाे हुन्छ।

आफूलाई चिनेर शरीरमा बसेको भन्दै उनी भन्छिन्, ‘यिनले पनि मलाई अभिभावक ठान्छन्। मलाई माया गर्छन् र मह दिन्छन्।’ यो वर्ष उनले २५ किलो मह उत्पादन गरिन्। प्रतिकिलो १ हजार ५ सय रुपैयाँका दरले बिक्री गरिन्। पछिल्ला वर्ष कहिले अधिक वर्षा त कहिले खडेरीले गर्दा उनले सोचेजति मह निकाल्न सकेकी छैनन्। मह बेच्न उनलाई कुनै व्यापारीको भर पर्नु पर्दैन। घरमै आउने ग्राहकको माग पुर्‍याउन उनलाई धौधौ हुन्छ। १४ जनाको परिवार रहेको अमृताको घरमा सबैजसो अध्ययन, अध्यापन र घरायसी काममै व्यस्त छन्। तर उनी भने तन्मयसाथ मौरीको स्याहारमा जुटेकी छन्। ‘यिनले मह देलान्रनदेलान् महत्त्वपूर्ण कुरा होइन तर मौरी बचाइराख्नु मुख्य कुरो हो’, उनी भन्छिन्, ‘किनकि मौरी मर्दा मन दुख्छ। मौरी भोकाउँदा मन रुन्छ।’  

एक पटक गोदावरीमा मौरीपालनसम्बन्धी तालिम लिनेबाहेक उनीसँग प्राविधिक ज्ञान छैन। तर मौरीप्रति लगाव भने अचम्मैको छ। ‘अहिले त मौरी विज्ञजस्तै हुनुहुन्छ। मौरीका हरेक सुखदुःख बुझ्नुहुन्छ’, छोरा राम भन्छन्, ‘आमा आँगनमा उभिँदा मौरीहरू वरिपरि झुम्मिन्छन्।’ ११ वर्षअघि श्रीमानको मृत्यु भएपछि उनी मौरीसँग झनै नजिकिइन्। ज्येष्ठ नागरिकले पाउने भत्तासमेत उनी मौरीपालनमै खर्च गर्दै आएकी छन्।

जुम्लाको २१ सय मिटर उचाइदेखि बेंसीसम्मका वनस्पतिको फूलमा मौरी चर्ने भएकाले यहाँ उत्पादित महको उच्च माग छ। अहिले उनको गाउँमा चार जनाले मौरी पालन गरेका छन्। यो वर्ष जिल्लामा रहेका ३० हजार घारमध्ये ५० प्रतिशतबाट उत्पादन घटेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख लछिराम महतका अनुसार अहिले वार्षिक १० टन मह उत्पादन घटेको छ। जुम्लामा चरन क्षेत्र अभाव हुँदै गएकाले मौरीपालक किसानलाई समस्या भएको उनले बताए।‘सेतो चिनी नामक जडीबुटीको अव्यवस्थित उत्खनन, पाटन क्षेत्रका फूल मासिनु जस्ता कारण मौरीको आहार कम भएको छ।’ उनले भने।

प्रकाशित: २३ मंसिर २०७९ ०७:५६ शुक्रबार