समाज

साकेला उधौली धुमधामसँग सुरु

साकेला उधौली सुरुवातको अवसरमा उदयपुरमा सिली नाच्दै। तस्विरः महेश्वर

किराती समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरिनाम) ५०७९’ अन्य ठाउँजस्तै उदयपुरमा पनि धुमधामसँग सुरु भएको छ। छिरिनामलाई स्वागत गर्दै गाईघाट लगायत विभिन्न ठाउँमा बिहीबारदेखि चुला पुजा, शिकारी पुजा र साकेला सिली नाच्ने क्रमको औपचारिक प्रारम्भ भएको छ।

चाडको अवसरमा बिहीबार विहान सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाट साकेलास्थानमा सामूहिक पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो। किरात राई यायोक्खा उदयपुरको आयोजनामा भएको कार्यक्रममा शिकारी पुजा, चुल्हा पुजा र सामुहिक सिली नाचेर छिरिनामलाई स्वागत गर्ने काम सम्पन्न भएको छ।

गाईघाटसँगै त्रियुगा नगरपालिकाका बोक्से, मोतिगडा, देउरी, बगाहा, दमौटी, श्रीपुृर, साउने, खाँबु, चिलाउने, भोर्ले र जोगीदहलगायत १६ वटै वडामा एकैचोटी उधौली सुरु भएको छ । त्यसैगरी बेलका नगरपालिकाका रामपुर, मैनामैनी, कोठु, भासी, टप्पु, बानडाँडा, बबलामा पनि भव्यरुपमा उधौली सुरु भएको यायोक्खाले जनाएको छ। त्यस्तै चौदण्डीगढी नगरपालिकाका बेलटार, सिद्धिपुर, बसाहा, सुन्दरपुर, हडिया, चौदण्डी, वीरेन्द्र बजारलगायत ठाउँमा उधौली मनाइदै छ।

यायोक्खा अध्यक्ष गंगा राईले यसवर्ष साकेला उधौली विशेष र भव्य रुपले देशभर मनाइने कार्यक्रम रहेको बताइन्। कोभिड कहरका कारण विगत ३ वर्षदेखि खुलेर मनाउन नपाइएको उधौली यस वर्ष सहज भएकाले व्यवस्थित, खुल्ला र बिबिध गतिविधिसहित मनाउन लागिएको उनले बताइन्। नगर, गाउँ र वडास्तरसम्ममा उधौली मनाउन स्वतस्फुर्त रुपमा स्थानीयहरु लागेको खवर जिल्ला यायोक्खालाई प्राप्त भएको पनि अध्यक्ष राईले बताइन्।

मानव सभ्यतामध्ये सबभन्दा पुरानो र वैज्ञानिक सभ्यता किराती समुदाय यलम्बर युग (किराती राजा यलेहाङले चलाएको किरात संवत) हो भन्ने विश्वास गर्दै आएको छ। किरात संवत हाल ५०८२ चलिरहेको छ। हरेक माघमा सुरु भएर पुसमा अन्त्य हुने किरात संवत आउँदो माघदेखि ५०८३ सुरु हुन गइरहेको छ। किरात संवत नेपालमा प्रचलित बिक्रम आदित्यकालीन नेपाली संबतभन्दा ३००३ वर्षले अगाडिको सभ्यता मानिन्छ।

अगुवा किराती बेत्ताहरुका अनुसार नेपालमा महिशपाल बंशलाई पराजित गरी झण्डै २९ सय वर्ष शासन गरेको किराती राजा यलम्बरका सन्तानलाई ३५ पुस्तापछि लिच्छवी राजाले हराएर शासन हातमा लिएका हु्न्। अहिलेसम्मको राजतन्त्रमध्ये सबभन्दा लामो समय शासन गरेको किरातीकाल पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि समाप्त भएको हो।

पृथ्वीनारायण कालसम्म भुरे टाकुरे राज्य शासनमै रहेको किराती शासन सुरुवात राजा येलम्बरकालदेखि गणना गर्दा ५०८२ वर्ष पुगेको इतिहासकारहरु बताउँछन्।

लिच्छबी बंशले राज्य खोसेपछि यलेखिम (काठमाडौँ) बाट भागेका किरातीहरु बनेपा, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर हुँदै पूर्वीभेग आएर ससाना राज्य रजौटा चलाएर बसेका थिए । जसलाई वल्लो किरात, पल्लो किरात र माझ किरात भनिन्थ्यो। एकीकरणको क्रममा पृथ्वीनारायण शाहले उनीहरुलाई परास्त गरेर सत्ताबिहीन बनाएपछि पनि सरकारी कामकाज भने वल्लो, पल्लो र माझ किरातको नामबाटै प्रचलनमा थियो।

राणा शासनकालसम्म व्यापक रहेको सो प्रचलन ००७ सालमा स्थापित बहुदलीय व्यवस्था ०१७ सालमा महेन्द्रले ‘कु’ गरेर पञ्चायत स्थापना गरेपछि बिस्तारै हराउँदै गएको थियो। ०३८ सालदेखि लागू भएको ७५ जिल्ला र ५ विकास क्षेत्र कार्यान्वयनमा आएसँगै वल्लो, पल्लो र माझ किरातबाट सरकारी कामकाज हटाइएको इतिहासकारहरु बताउँछन्।

प्रकाशित: २२ मंसिर २०७९ १२:२१ बिहीबार

साकेला उधौली