उदयपुरमा अचानक भएको आगलागीमा परी एक स्थानीयको घर, टहरा र त्यसभित्र रहेको धनमाल जलेर नष्ट भएको छ।
बिहीबार बिहान ९ः५० बजेको समयमा एक्कासि आगो लाग्दा त्रियुगा नगरपालिका ६ मोहनपुरकी सम्फामाया बिकको घर जलेर नष्ट भएको हो।
फुसको छानो र टाटी बेराले बारेको २ कोठे घरमा गाईलाई खोले पकाउने क्रममा अचानक आगलागी हुँदा घर र घरभित्र रहेका भाँडा बर्तन, लत्ताकपडा, अन्नपात, केही सुन चाँदीका गरगहनासमेत जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जलजलेलाई उद्धृत गर्दै जिल्ला प्रहरीले बताए अनुसार आगलागीबाट ९ लाख बराबरको क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ। प्रहरी टोली र स्थानीयवासीको सहायेगमा झण्डै १ घण्टापछि आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए।
आगलागीले बिचल्ली भएकी पीडित घरधनी बिकले राहत सहयोग र पुनरबासका लागि वडा र नगरपालिकासँग आग्रह गरेकी छिन्।
प्रकाशित: २१ मंसिर २०७९ ११:४७ बुधबार