समाज

महानगरको फोहर स्रोतमै वर्गीकरण गर्ने कार्य स्थगित

करिव पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ।

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो। सुरुको एक दुई हप्ता कामपाको योजना अनुरुप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन।

कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन्। कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ।

'सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ। जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहरको स्रोतमा नै वर्गीकरणको काम पुनः सुरु हुन्छ, आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पुर्णता पाउने छ', लम्सालले भने, 'कामपालाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन। त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो।'

स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ। निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन्।

काठमाडौँ उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न थालिएको हो। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो। आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचान गरी कुहीने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन। रासस 

प्रकाशित: २० मंसिर २०७९ १३:५२ मंगलबार

काठमाडौं महानगरपालिका