समाज

जमिनमा गाडिएको अवस्थामा पौने दुई क्वीन्टल गाँजा बरामद

नेपालबाट भारततिर प्रतिबन्धित लागू औषध गाँजा तस्करी गर्ने नयाँ तरिकाको पर्दाफास भएको छ। गाँजाको ठूलो खेप भारततिर नपठाई सीमा क्षेत्रमा जमिनमुनि भण्डारण गर्ने र क्रमशः तस्करी गर्ने गरेको रहस्योद्घाटन भएको छ। 

रौतहट सदरमुकाम गौर नपा ३ स्थित नेपाल भारत सीमासँग जोडिएको एक कुखुरा फार्म छेउमै जमिन मुनिबाट प्रहरीले एक क्वीन्टल ८० किलो गाँजा बरामद गरेको छ।

मकवानपुरबाट ल्याएर कुखुरा फार्मको बालुवा भएको जमिनमा गाडेर लुकाई भागेको अवस्थामा प्रहरीले जमिनबाट गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले सञ्चालन गरेको कुखुरा फर्मबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

कुखुरा फार्मसम्म गाँजा पुयाउने बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र ट्रक चालक मकवानपुरका सुरेन्द्र स्यांतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुखुरा फार्मका सञ्चालकहरू फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७९ १२:४० शनिबार