समाज

जुम्लामा चिसो बढ्दै

जुम्लामा हिजो आज चिसो बढ्दै गएको छ। यहाँ कार्तिक महिना १५ गतेदेखि  चिसो बढेको हो। चिसोका कारण जिल्लाका उच्च भूभागमा बसोबास गर्नेहरुको जनजीवन प्रभावित भएका छन्। जुम्लामा चिसो बढ्दै गएपछि जिल्लाको उच्च भुभाग तथा पाटनमा रहेका भेडा, बाख्राहरु पनि गाउँमा ल्याइएका छन्।  

बिहान बेलुकाको समयमा अत्याधिक चिसो बढेको छ। दिउँसोको हावाहुरी बढी चल्छ। जल तथा मौषम विज्ञान कार्यालय जुम्लाका अनुसार कार्तिक  महिनाको तुलनामा मंसिर महिना शुरु भएलगतै ह्वात्तै चिसो बढेको हो। कार्तिक महिनामा अन्तिमसम्म अधिकतम तापक्रम १७ दशमलब शून्य डिग्री सेल्सियस र न्युनतम तापक्रम शून्य दशमलब ६ डिग्रि सेल्सीयस रहेकोमा मंसिर महिना शुर भएलगतै अधिकतम तापक्रम २० दशमलव शुन्य डिग्री सेल्सियस र न्युनतम तापक्रम माइनस २ दशमलब ८ डिग्री सेल्सीयससम्म झरेको छ। 

चिसो बढेदै गए पछि बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। चिसोको समयमा बालबालिकाहरुलाई न्यूमोनिया हुन सक्ने भएकाले न्यानो लुगा लगाई राख्न तथा प्रशस्त मात्रामा स्तनपान गराउन पनि उनीहरुले सुझाएका छन्। यस्तै वृद्धवृद्धाहरुलाई श्वासप्रश्वास सम्बन्धि समस्या हुने भएकाले यो समयमा सतर्कता अपनाउन पनि स्वास्थ्यकर्मिको सुझाव रहेको छ।  चिसो बढेपछि आजभोलि बाक्लो र न्यानो लुगाकपडाहरु किनबेच बढी भइरहेको जुम्लाका व्यापारीहरु बताउँछन्। यहाँका मानिसहरु केही दिन बाट हिउँद कटानका लागि दाउराको जोहो गर्ने गरिहेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ ०२:४४ बिहीबार