समाज

‘बहिष्करणको त्रासले द्वन्द्वका यौन हिंसापीडित महिला मुद्दाबाट हच्किन्छन्’

माओवादी नेत्री देवी खड्का । तस्बिर: सुविना श्रेष्ठको ट्विटरबाट

पूर्व सांसद एवं १० वर्षे सशस्त्र द्वन्द्वमा राज्य पक्षबाट आक्रमणमा परेकी नेकपा (माओवादी केन्द्र) की नेत्रा देवी खड्का त्यो बेला महिलामाथि भएको यौन हिंसा र पीडितको न्यायका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा ध्यानाकर्षण गराएकी छन्। 

द्वन्द्वका बेला धेरै महिला यौन हिंसामा परे पनि सामाजिक बहिष्करणमा पर्ने डरले अहिलेसम्म मुद्दा दर्ता नभएको समेत खड्काले आफ्नो मन्तव्यका क्रममा बताएकी थिइँन्। बेलायत सरकारले लन्डनमा सोमबार र मंगलबार आयोजित ‘द्वन्द्वमा यौन हिंसा रोकथाम पहल’ (पिएसभिआई) सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रूपमा उनले सम्बोधन गरेर यो मुद्दाप्रति विश्वको ध्यानाकर्षण गराएकी छन्। 

माओवादी शान्तिप्रक्रियामा आएको १७ वर्षपछि पनि युद्धमा बलात्कृत महिलाहरूका बारेमा कहीँकतै उल्लेख नगरिएको र यसमा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यान नपुगेको खड्काले बताइँन्। सन् २००८ मा आफू संविधानसभा सदस्यमा निर्वाचित भएपछि हत्याको योजनासहित प्रहरीको गाडीले आफूलाई ठक्कर दिएको जानकारी समेत त्यहाँ गराएकी थिइँन्। यस्ता पीडित महिला अहिले पनि मौन रहेको खड्काले सम्वोधनका क्रममा बताएकी थिइँन्।

 उनले आफ्नो देशको सरकारले आफू र आफूजस्ता महिलाहरूको इतिहास मेटाउन खोजेको महसुस हुन थालेको बताइन्। ‘इतिहासमा महिलाहरूको योगदान मेटाउँदा कति दुःख लाग्छ भन्ने कुरा यहाँ आएका सबैले महसुस गर्न सक्नुहुन्छ। त्यसैले पीडित महिलालाई समेटेर यस मुद्दालाई अगाडि बढाउन आफूले काम गरिरहेको उनले उल्लेख गरिन्।

 राज्यले शान्तिसम्झौता भएको १७ वर्षपछि सार्वजनिक रूपमा द्वन्द्वका बेला दुवै पक्षबाट महिला बलात्कृत भएको स्वीकार गर्नु आफूहरूका लागि ठुलो उपलब्धि भएको उनले बताइन्। सोही उपलब्धिले अगाडिको लडाइँ लड्ने ढोका खोलिदिएको उनको भनाइ थियो। खड्का अन्य देशका पीडितहरूले वर्षौं पुराना पीडाका घटनालाई पनि उठान गरेका कारण आफूहरूलाई पनि न्यायका लागि प्रयास गर्न छाड्नुहुँदैन भन्नेमा बल मिलेको बताइन्। 

उक्त कार्यक्रममा अमेरिकाकी चर्चित नायिका एन्जेलिना जोली तथा विभिन्न देशका विदेश मन्त्रीले समेत सम्बोधन गरेका थिए। उनीहरूले द्वन्द्वका बेला यौन हिंसा हुन नदिन तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। 

नेपालमै पनि बिर्सिइसकेको यो मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुलाई महत्त्वपूर्ण घटनाका रुपमा लिइएको छ। दक्षिण एसियाली महिलामध्ये नेता खड्काले यस्तो दुर्लभ अवसर पाएकी थिइँन्। यस्ता घटनामा बाँचेका व्यक्तिले नै विषयलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता सम्मेलनका क्रममा बलियोसँग उठेको थियो उक्त सम्मेलनलाई नेता देवीले सम्वोधन गरे लगत्तै जापानी उपविदेश मन्त्री ताकाजी केईले संवोधन गरेका थिए।

लिबिया, सियरालियोन, लिथुवानिया, कोरिया, केन्या, अल्वानिया, गिनी, रुवान्डालगायतका मुलुका विदेशमन्त्री र वरिष्ठ मन्त्रीले संवोधन गरेका थिए। कार्यक्रममा युएन उमनकी शान्ति तथा सुरक्षा निर्देशक पाइभी कानिस्तोले समेत छलफलमा भाग लिएकी थिइँन। मुलुकमा अझै संक्रमणकालीन न्याय प्रक्रिया टुंगिएको छैन। राज्य र विद्रोही दुबै पक्षबाट भएका यौनहिंसाका घटनालाई संवोधन नगरेपछि १४ चैत २०७८ मा नेता खड्काकै नेतृत्वमा राष्ट्रिय सम्मेलन भएको थियो।

उक्त सम्मेलनपछि ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठन’ गरी त्यसलाई समेत खड्काले नेतृत्व दिँदै आएक छन्। सम्मेलनपछि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको समेत ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १५ मंसिर २०७९ ००:५५ बिहीबार

यौन हिंसापीडित महिला