समाज

चुनाव सकिए लगत्तै रौतहट र सर्लाहीमा बढ्यो तस्करी

सर्लाहीको नाका हुदैं भारत तर्फ बालुवा, गिटि बोकेर जादै एक ट्याक्टर।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सकिए लगत्तै रौतहट र सर्लाहीमा तस्करी व्यापक बढेको पाइएको छ। निर्वाचनभन्दा पहिले हजारौँ म्यादी प्रहरी काम गरिरहेको समय सुरक्षा व्यवस्था अत्यन्त कडा भएको कारण तस्करी निकै कम भएको थियो तर निर्वाचन सकिए लगत्तै नेपाल भारत सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा वृद्धि भएको देखिएको छ।

रौतहटको मठिया, लतमरी, औरैया, बन्जरहा, लक्ष्मीपुर बेलबिछवा तथा ब्रह्मपुरी नाका भएर नेपालबाट विभिन्न किसिमका मदिरा, मसुरो दाल, केराउ, चना, स्याउ, सुन्तला भारततिर तस्करी भइरहेको छ। यसै गरी भारततिरबाट खाद्यान्न सामग्री, चिनी, दाल, तेल, पाउडर दूध, कपडा तथा रासायनिक मलको तस्करी भइरहेको छ।

रासायनिक मल किसानलाई बोर्डर एरियाबाट आफ्नो प्रयोजन गर्न छुट दिइएको छ तर किसानकै नाउँमा मोटरसाइकलमा व्यापक तस्करी भएको देखिएको छ।

भारतमा खरिद गरेको रासायनिक मल करिब डेढ गुना बढी मूल्यमा पसलेहरुलाई नै उपलब्ध गराउने गरेका छन्। भारतबाट विभिन्न नाका भएर तस्करीको मल रासायनिक मलको कारोबार गर्ने पसलमा पुग्ने गरेको छ। मठिया नाकाबाट दैनिक पाँच सय मोटरसाइकलमा मलको तस्करी हुने गरेको देखिएको छ। किसानको लागि दिइएको छुटको फाइदा तस्कर र बेपारीले लिइरहेका छन्।

सर्लाहीको बलरा, लक्ष्मीपुर, मधुवनी, अर्नाहा, फेन्हारा, बहादुरपुर, मलंगवा लचका, त्रिभुवन नगर, नारायणपुर नाका भएर दैनिक करोडौँको सामान अवैध रुपमा सीमा वारपार भइरहेको छ। भारतबाट नेपालतिर दैनिक रुपमा पोके तस्करी, मोटरसाइकल, साइकलमा चामल, दाल, कपडा, हार्डवेयरका सामग्रीहरु, चिनी, रासायनिक मल लगायतको सामानहरु निर्बाध रुपमा आइरहेका छन्। यसै गरी नेपालबाट भारततिर बालुवा, गिटी, विभिन्न ब्रान्डका मदिरा, कस्मेटिक लगायतका विभिन्न सामग्री तस्करी भइरहेको देखिन्छ।

नेपालबाट भारततिर सर्लाहीको बलरा र छतौना नाकाबाट दैनिक पचासौँ ट्रयाक्टर बालुवा गिटी तस्करी भइरहेको स्थानीयको भनाइ छ।  

सर्लाहीको विभिन्न खोलानाला तथा चुरेको फेदबाट उत्पादित गिटी र बालुवा भारततिर निर्बाध तस्करी भइरहेको छ। स्थानीय नाकानजिकको सुरक्षा चौकीकै सेटिङमा भारततिर गिटी र बालुवा तस्करी भइरहेको देखिन्छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले तस्करीको विषयमा अनभिज्ञता प्रकट गर्दै यस विषयमा नियन्त्रणका लागि सुरक्षाकर्मीलाई तत्काल निर्देशन दिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलले तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने बताएका छन्। मातहतका निकायलाई तस्करी भइरहेको भए तत्काल नियन्त्रणका लागि निर्देशन दिने एसपि पोखरेलको भनाइ छ।

प्रकाशित: १३ मंसिर २०७९ १२:२० मंगलबार