समाज

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ। जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ। चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ। जहाँ ९५ हजार ४१ मत खसेको थियो।

यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ। जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो। क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ। यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो। यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा दुई हजार नौ र प्रदेशसभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ।

निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा तीन हजार ५० र प्रदेशसभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ। त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ।

कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने सङ्ख्यामा कमी आउन नसकेको बताए। प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा मत बढी बदर हुनुमा मतदाताले मत सङ्केत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ।

मतदाताले मत सङ्केत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए। उनले भने 'प्रदेशसभाको मतपत्रमा मतदाताले मत सङ्केत नगरेको र दुई ठाउँमा मतदान गरेका मतपत्र धेरै छन्।'

प्रकाशित: ११ मंसिर २०७९ १२:४९ आइतबार

प्रतिनिधिसभा