समाज

पशुपति गौशाला धर्मशालामा डोजर लगाएकोमा विरोध

मारवाडी सेवा समितिले पशुपति गौशालामा सञ्चालन गरेका धर्मशाला, डायलासिस सेन्टर र गाईगोठलाई पशुपति क्षेत्र विकास कोषले डोजर लगाएर भत्काउने प्रयास गरेको छ।

मारवाडीले भने कानुनबमोजिम धर्मशाला, डायलासिस सेन्टर तथा गाईबाच्छा पालन गरी समाजसेवा गरिरहेको जनाउँदै धर्मशाला भत्काउने प्रयास भएकोमा गम्भीर आपत्ति जनाएको छ। साथै भत्काउने योजना बन्द गर्न कोषलाई आग्रह गरेको छ।

विकास कोषका पदाधिकारीहरूले शनिबार बिहान डोजरको सहायतामा गाईगोठ रहेको पर्खालका केही भाग भत्काएका छन्। अन्य भाग भत्काउन लाग्दा मारवाडी सेवा समितिका सदस्य तथा पदाधिकारीहरू एकजुट भई अवरोध गरेका थिए। त्यसपछि डोजरसहित पर्खाल भत्काउन आएका कोषका पदाधिकारीहरू अर्को दिन भत्काउने भन्दै त्यहाँबाट हिँडेका थिए। कोषले धर्मशाला भत्काउन प्रयास गरेपछि विगत ८२ वर्षदेखि गौशालामा धर्मशाला स्थापना गरी विभिन्न समाज सेवा गर्दै आएको मारवाडी सेवा पशुपति क्षेत्र विकास कोषबीच आरोप–प्रत्यारोप सुरु भएको छ। कोषले शुक्रबार मारवाडी सेवा समितिलाई चिठी लेखेर शनिबार बिहान ९ बजे सम्झौताविपरीत निर्माण भएका अवैध संरचना भत्काउने र त्यो समयअगाडि उक्त संरचनामा रहेभएका सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्न जानकारी गराएको थियो। चिठी पठाएको भोलिपल्ट कोषका पदाधिकारी डोजर लिएर धर्मशालाको पर्खाल भत्काउन गौशाला पुगेका थिए। केही भाग भत्काए पनि।

मारवाडी विकास समितिका पदाधिकारीहरूले कानुनको परिधिभित्र रही विशुद्ध समाज सेवा गर्दागर्दै पनि कोषका पदाधिकारीहरूले अनावश्यक दुःख दिने गरेको, बेलाबेलामा धम्की दिने गरेको, आफूहरूलाई ‘डाँका’ भन्ने गरेको जस्ता आरोप लगाएका छन्। मारवाडी सेवा समितिले गौशाला धर्मशालाभित्र तीनवटा संरचना बनाएका छन्। पहिलो संरचनामा धर्मशाला, दोस्रो संरचनामा डायलासिस सेन्टर र तेस्रो संरचनामा गाईगोठ बनाएका छन्। डायलासिस सेन्टरमा प्रत्येक दिन एक सय २० जना मिर्गौला रोगीको निःशुल्क डायलासिस गर्दै आएको सेवा समितिका पदाधिकारीले जनाएका छन्। मारवाडी सेवा समितिका सदस्यहरूको सहयोगमा १२ करोड रूपैयाँ लागतमा ३० बेड सुविधाको डायलासिस सेवा सुरु गरिएको थियो।

यसैगरी मारवाडीले सञ्चालन गरेको गाईगोठमा दुहुना गाई र बाच्छा गरी २ सय १७ वडा छन्। त्यहाँबाट उत्पादित दुध पशुपतिनाथको अभिषेकका लागि हरेक दिन २९ लिटर पठाउने गरिएको छ। मारवाडी सेवा समितिले हाल गौशाला धर्मशालाभित्र गौ सेवा, निःशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा सञ्चालन गर्दै आएको छ। यसैगरी २०५७ देखि निःशुल्क कृत्रिम खुट्टा वितरण, हामियोप्याथिक पद्धतिबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा हरेक शनिबार ४ देखि ५ सय व्यक्तिलाई निःशुल्क भोजन गराउँदै आएको छ। यसैगरी धर्मशालामा एक सय रूपैयाँमा आबास व्यवस्था तथा १ सय २० रूपैयाँमा भोजन गराउँदै आएको छ।

कोभिड १९ को दोस्रो लहरमा मारवाडी सेवा समितिले धर्मशालाको पूरै भवनमा निःशुल्क खाना, अक्सिजन, औषधि, ल्याब परीक्षण तथा नर्ससहितको निःशुल्क आइसोलेसन सञ्चालन गरेको थियो। सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार २०२१ सालको नापी, मालपोतको स्रेस्ता, २०४४ सालको नापी फिल्डबुक, गुठी संस्थानको स्रेस्ता र पशुपति विकास कोषको मोही लागतमा जनिएबमोजिमको हालसम्मको बालीवापत मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषलाई आर्थिक वर्ष २०७९÷८० सम्मका लागि तिरो बुझाइसकेको छ।

२०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको सहमतिमा मारवाडी सेवा समितिले हरेक वर्ष ५१ हजार रूपैयाँ कोषलाई बुझाउने सम्झौता गरिएको थियो। उक्त सहमतिअनुसार बुझाउनुपर्ने सबै तिरो बुझाइसकेको मारवाडीले जनाएको छ। ‘कोषसँग कानुनी रूपमै सम्झौता गरेका छौं। विशुद्ध समाज सेवा गरिरहेका छौं। तैपनि कोषका पदाधिकारीहरूले हामीलाई अनावश्यक दुःख दिने, संरचना नै भत्काउने धम्की दिएका छन्’, शनिबार मारवाडीले गरेको पत्रकार सम्मेलनमा सेवा समितिका अध्यक्ष गोयलले भने, ‘कोषका पदाधिकारीहरूले अति नै गरेका छन्। यसबाट हामी धेरै दुःखी भएका छौं।’

यता पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषले गौशाला धर्मशालालाई पूरै भत्काएर धुलापिठो बनाउने कोषको तयारी नभएको बताउँदै भने, ‘हामीले अवैध र मापदण्डविपरीत बनेका संचरना मात्र भत्काउन खोजको हौं।’ मारवाडीले १९ वटा सटर भाडामा दिएर व्यापार गरेको, दुध बिक्री गरेको तथा धर्मशालामा आबास तथा भोजनका नाममा व्यवसाय गरेको अधिकारीको भनाइ छ।

१९९७ सालमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले मारवाडी सेवा समाजका रामकुमार मारवाडीलगायतलाई बोलाई पशुपति मन्दिरनजिकै गौशाला धर्मशाला बनाउन लगाएका थिए।

प्रकाशित: ११ मंसिर २०७९ ०१:३० आइतबार

पशुपति गौशाला धर्मशाला