समाज

लैङिक हिंसा विरुद्धको अभियान १६ दिन कि ३६५ दिन ?

१६ दिने अभियानको शुरुवात कार्यक्रम।

‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित दुर्गम जिल्ला रुकुम पश्चिममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ। सदरमुकाम मुसिकोटको त्रिबेणी चोकबाट निस्केको एक र्‍याली अन्तरक्रियात्मक सभामा परिणत भएको थियो।

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, कर्णाली प्रदेशका निबर्तमान सांसद देबि वली, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्लाका अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताए। मुसिकोट नगरपालिका, महिला पुर्नस्थापना केन्द्र ओरेक रुकुम, महिला मानब अधिकार रक्षक संजाल, हरप्लेस लगायतका सस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले कार्यपत्र प्रस्तुत गरेकी थिईन।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यकालागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो। त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ। हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३१ वर्षभइसकेको छ।

महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापितगर्दै सोहीअनुरुप कामगर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वानगर्ने यो अभियानको उद्देश्य हो। यो अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ।

नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन्। वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन्। उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीयविभेद र चरम लैंगिकविभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जल समाधि लिएकी थिईन्।

१६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ। तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ९ मंसिर २०७९ १०:२७ शुक्रबार