समाज

मन्दिर निर्माणार्थ १० लाख ६० हजार रुपैयाँ सहयोग

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिं (मन्दिर) निर्माण गर्न घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ। समाजले घान्द्रुकस्थित क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजार रुपैयाँ हस्तारण गरेको हो।  

आर्थिक हस्तान्तरण पछि बोल्दै संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए। ‘विभिन्न देशविदेशमा घान्दु्रकका समुदायहरु बसोबास गर्दै आएका छन्,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ। समाजमा आर्थिक, नैतिक र भौतिक सहयोगले समाजको माया अझै बढेर जान्छ।’

घान्द्रकमा स्थापना गर्न लागेको घान्द्रुक(कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाई भएको भन्दै गुरुङले आगामि फागुनमा शिलान्यास गर्ने जानकारी दिए। ‘कोभिड महामारिले गर्दा बेलैमा काम गर्न सकिएन,’ उनले भने।  

यसैबीच घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्तबहादुर गुरुङलाई छैठौंं ब्रेज मेश्रो अवार्ड प्रदान गरेको छ। घान्द्रुक (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तातरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद २६ हजार ५ सय रुपैयाँ सहित अवार्ड दिएको हो।  

७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्याकंन गर्दै अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए। उनका अनुसार यस अघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकेको छ।  

सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए। ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ,’ उनले भने, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं। विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं।’

प्रकाशित: ७ मंसिर २०७९ ०९:१५ बुधबार

घान्द्रुक समाज हङकङ मन्दिर निर्माण