सर्लाही र रौतहटमा सोमबार दिउँसोदेखि मात्र मतगणना सुरु हुने भएको छ। राति अबेरसम्म मतपेटिका संकलनको काम भएको र राजनीतिक दलहरुसितको समन्वयात्मक बैठकका लागि ढिलो भएकोले मतगणनाको सुरुआत गर्न ढिलो भएको हो।
६२ प्रतिशत मतदान भएको सर्लाहीको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ मा सर्वदलीय बैठक भएको छ। सर्वदलीय बैठकपछि मतगणना प्रतिनिधि राखेर मतगणना सुरु हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्।
एउटा क्षेत्रमा बैठक भए पनि क्षेत्र नम्बर १, २ र ४ मा भने बैठक हुन बाँकी छ। सबै दललाई सम्बन्धित निर्वाचन कार्यालयले सर्वदलीय बैठकका लागि १० बजे बोलाएको छ। सर्वदलीय बैठकपछि दिउँसोदेखि मतगणना प्रारम्भ हुने एसपि पोखरेलले जनाए।
६५ प्रतिशत मतदान भएको रौतहटको ४ संसदीय क्षेत्रमध्ये कुनै पनि क्षेत्रको सर्वदलीय बैठक हुन सकेको छैन। राति अबेरसम्म मतपेटिका संकलनको कार्य भएकोले सर्वदलीय बैठक बिहान १० बजे बोलाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।
सर्वदलीय बैठकपछि सोमबार दिउँसोदेखि मतगणना सुरु हुने प्रजिअ शाहीको भनाइ छ। चुनाव सम्पन्न भइसकेर अन्य जिल्लामा मतगणना सुरु भई प्रारम्भिक मतपरिणामहरु आउन सुरु भएसँगै सर्लाही र रौतहटका स्थानीयबासीमा पनि उत्सुकता बढेको छ। सर्लाही र रौतहटका अधिकांश क्षेत्रमा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रकाशित: ५ मंसिर २०७९ ०४:२८ सोमबार