समाज

हेलिकोप्टरले मतपेटिका नल्याउने भएपछि ताप्लेजुङमा मतगणना सुरु हुन ढिलाई हुने

ताप्लेजुङका उत्तरी क्षेत्रका ४ दुर्गम मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउन नसकिने भएपछि मतगणना सुरु हुन लम्बिने भएको छ।  

फक्ताङलुङ गाउँपालिका वडा नं ६ र ७ का क्रमशःओलाङचुङगोला,याङ्मा,ग्याब्ला र घुन्सा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउन नसकिने जानकारी जिल्ला निर्वाचन व्यवस्थापन समितिले जानकारी दिएकाे छ। बिहानै ती क्षेत्रका मतपेटिका सदरमुकाम फुङलिङतर्फ हिँडाइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। याङ्मा यहाँको सबैभन्दा दुर्गम स्थानमा रहेको मतदान स्थल हो। मतदान गराउन सदरमुकाम फुङलिङबाट हिँडेको टोली ४ हजार २ सय मिटर उचाईमा रहको याङ्मामा ४ दिनमा मात्र पुगेको थियो। दुर्गम क्षेत्र याङमामा १२ मत खसेको छ। त्यहाँ ६१ मतदाता थिए। यस्तै २ सय ८४ मतदाता रहेको ओलाङचुङगोलामा ९७ मत खसेको छ। १ सय ६९ जना मतदाता रहेको घुन्सामा ६० मत खसेको छ। ६७ मतदाता रहेको ग्याब्ला मतदान केन्द्रमा २२ मत खसेको छ।  

यी सबै मतदान केन्द्रको मतपेटिका यसअघि हेलिकोप्टरबाट ल्याउने भनिएपनि अन्तिम समयमा हेलिकोप्टर आउन नसक्ने बताइएपछि त्यहाँबाट हिँडाइएको छ। मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले १ सय २३ मतदान केन्द्रमध्ये ४ बाहेक अरु सबै मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको जानकारी दिइन्।  

यता लिङतेपको लक्ष्मी मावि मतदानस्थलमा पुनःमतदान हुनुपर्ने माग गर्दै नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको निबेदन उपर कारवाही नभई मतदान प्रकृया अघि बढाउन नसनिके प्रतिक्रिया दिएको छ। एमाले सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार योगेशकुमार भट्टराईले त्यहाँ पुनःमतदान नभई मतगणना प्रकृया अघि नबढ्ने आफ्नो बटमलाइनमा कुनै परिवर्तन नभएको जानकारी दिए। ताप्लेजुङमा सबैभन्दा बढी मत मेरिङदेनको लिङतेपमा खसेको छ। जिल्ला निर्वाचन अधिकारी खनालका अनुसार १ हजार १ सय ९० मतदाता रहेकोमा १ हजार २० अर्थात् ८५.७१ प्रतिशत मतदान भएको छ।  

प्रकाशित: ५ मंसिर २०७९ ०३:५२ सोमबार

Election 2079