समाज

वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्तिअन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्। यो छात्रवृत्ति वैदेशिक रोजगारीमा रहेका बेला मृत्यु, अंगभंग तथा अशक्त भएका श्रमिकका छोराछोरीको शैक्षिक विकासका लागि रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषले उपलब्ध गराउने गर्छ।

वैदेशिक रोजगारीमा गई मृत्यु भएका श्रमिकका छोराछारीले आधारभूत तहका लागि वार्षिक ८ हजार र माध्यमिक तहका लागि वार्षिक १२ हजार रूपैयाँ निवेदकलाई छात्रवृत्तिको रूपमा दिने गरेको वैदेशिक रोजगार बोर्डका निर्देशक दिपक ढकालले बताए। उनले भने, ‘छात्रवृत्ति सरकारी र सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले र विद्यालय तहका विद्यार्थीहरू जो १८ वर्ष मुनिका बालबालिकाहरू छन् उनीहरूले मात्र उपयोग गर्न पाउँछन्।’

गत आर्थिक वर्षमा जम्मा २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका मध्ये छात्र १ हजार ३ सय ५१ र छात्रा १ हजार २ सय ४४ जना रहेको बोर्डको तथ्यांकले देखाउँछ। त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार २ सय ९, आव ०७६/७७ मा १ हजार ७ सय २, आव ०७५/७६ मा १ हजार ४ सय ३८ र आव ०७४/७५ मा जम्मा ८० जना रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/०७९ सबै भन्दा बढी छात्रवृत्ति पाउने जिल्ला सप्तरी रहेको थियो । गत आर्थिक वर्षमा सप्तरी जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु, अंगभंग र अशक्त हुने श्रमिकको परिवारका १ सय ३६ जना बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइएको थियो।

त्यस्तै धनुषा जिल्लाबाट गएका १ सय २७, झापा जिल्लाका १ सय २१, सर्लाही जिल्लाबाट १ सय १९ र नवलपरासी पूर्वी जिल्लाबाट ९४ जनाले छात्रवृत्ति प्राप्त गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बोर्डका निर्देशक ढकाल भन्छन्, ‘वैदेशिक रोजगारी छात्रवृत्ति कार्यक्रम नेपालका सबै जिल्लामा लागु हुने गरेको छ ।’ उनका अनुसार आधारभूत र माध्यामिक तहका विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्र सहयोग उपलब्ध गराइने गरेको छ। बोर्डले सामुदायिक विद्यालयतर्फ पूर्व प्राथमिक कक्षादेखि बाह्र कक्षासम्म अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गाराउँदै आएको छ।

यस्तो छात्रवृत्ति पाउने छात्रछात्राको संख्या सबैभन्दा धेरै कक्षा चारबाट रहेका छन्। तीमध्ये १ सय ४१ छात्र र छात्रा २ सय गरी जम्मा २४१ जना रहेका छन्।

त्यस्तैगरी कक्षा पाँचमा छात्रछात्रा दुबै गरेर २ सय ३६, कक्षा नौं बाट २ सय ३२ र कक्षा आठबाट २ सय ३० जनाले छात्रवृत्ति पाएको निर्देशक ढकालले बताए।

वैदेशिक रोजगारीमा गएर मृतयु भएका श्रमिकका परिवारको विद्यालयस्तरका एक विद्यार्थीलाई मात्र छात्रवृत्ति प्रदान गर्ने गरिएको छ। त्यस्ता परिवारमा छात्र र छात्रा दुबै भएमा छात्रालाई प्राथमिकतामा राखिएको जानकारी पनि निर्देशक ढकालले दिए।

उनले भने, ‘एकभन्दा बढी छात्रा भएमा सबैभन्दा माथिल्लो शैक्षिक योग्यता भएकालाई छात्रवृत्ति उपलब्ध गराइन्छ।’ उक्त परिवारको छात्रवृत्ति पाइरहेका एक सदस्यले विद्यालय तह पार गरेपछि त्यसै परिवारको अर्को विद्यार्थीलाई यो कार्यविधि बमोजिम छात्रवृत्ति उपलब्ध गराउने गरिएको पनि उनले बताए।

अंगभंग, मुत्यु तथा अशक्त भएका श्रमिकको परिवारका सदस्यले छात्रवृत्तिका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले सूचना प्रकाशित गरी तोकेको म्याद भित्र सम्बन्धित शैक्षिक संस्थामा निवेदन दिनुपर्ने प्रबन्ध गरिएको उनले बताए।

सम्बन्धित विद्यालयमा परेका निवेदनहरू सम्बद्ध जिल्ला शिक्षा कार्यालयमा पठाइन्छ। जिल्ला शिक्षा कार्यालयले रितपूर्वक भए नभएको जाँच गरी सम्बन्धित विद्यालय मार्फत निवेदकबाट अपुग कागजात पेश गर्न लगाउने गरेको ढकाले बताए।

यसरी प्राप्त विवरणहरू जिल्ला शिक्षा समितिले गरेको निर्णय बमोजिम जिल्ला शिक्षा कार्यालयले संलग्न कागजातसहित वैदेशिक रोजगार बोर्डको सचिवालयमा पठाइदिने गरेको छ।

बोडका निर्देशक ढकालका अनुसार सचिवालयमा प्राप्त निवेदन हेरी जिल्ला छात्रवृत्ति व्यवस्थापन समितिलाई बैठक भत्ता र मसलन्द बापत निर्देशक समितिले तोके बमोजिम एकमुष्ठ रकम छात्रवृत्तिका लागि उपलब्ध गराउने गरिएको छ। 

प्रकाशित: ५ मंसिर २०७९ ०३:०२ सोमबार

वैदेशिक रोजगार छात्रवृत्ति सबैभन्दा बढी सप्तरीमा