समाज

मोरङमा ६५ प्रतिशत मत खस्यो

मोरङमा करिब ६५ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालयका विराटनगरका अनुसार मोरङको अन्तिम विवरण आइनसकेको भए पनि प्रारम्भीक विवरण अनुसार ६३ देखि ६५ प्रतिशत मत खसेको देखिएको हो।

प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मोरङमा ६३ देखि ६५ प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भीक विवरणले देखाएको छ। मोरङमा १५ केन्द्रमा अझै मतदान जारी रहेको अधिकारीले जानकारी दिए।

मतदान सम्पन्न भएपछि मतगणना प्रकृया सुरू गरिने उनले बताए। मोरङमा चार स्थानमा मत गणना गर्ने तयारी गरिएको छ। विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयमा मोरङको क्षेत्रनम्बर ४,५ र ६ को गणना गर्ने तयारी गरिएको छ भने मोरङ क्षेत्रनम्बर १ को उर्लावारी नगरपालिकाको कार्यालय, क्षेत्रनम्बर ३ को भगवती मावि वेलवारी र क्षेत्रनम्बर २ को विश्वनाथ मन्दिर रतुवामाईमा मतगणनाको तयारी गरिएको छ।

कारागारका ६४ जना कैदीबन्दीले गरे मतदान  

मोरङ कारागारमा ६४ जना कैदी बन्दीले मतदान गरेका छन्। २ सय १ जना कैदी बन्दी मतदाता रहेको कारागारमा ६४ जनाले मात्रै मतदान गरेको प्रदेश निर्वाचन कार्यालय मोरङका सू्रचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिए। 

जसमा ४८ जना पुरुष र ६ जना महिला छन्। यस्तै विराटनगरको आदर्श पुस्तकालयमा कर्मचारीहरूका लागि राखिएको अस्थायी मतदान केन्द्रमा न्यून मतदान भएको छ। २ हजार ५ सय ९५ जना मतदाता रहेको उक्त केन्द्रमा ४२ जनाले मात्रै मतदान गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १२:४३ आइतबार