समाज

रोल्पा र रुकुममा सेनाको हवाई गस्ती

फाइल तस्बिर।

रोल्पा र रुकुममा नेपाली सेनाले हेलिकप्टरबाट हवाइ गस्ती गरेको छ। यी जिल्लाका संवेदनशील स्थानका मतदान केन्द्र नजिक हवाइ गस्ती गरिएको थियो। जिल्ला निर्वाचन सुरक्षा समितिहरुका अनुसार मतदातालाई रोकिएको वा रोक्न खोज्ने वातावरण बनेको सूचना अनुसार उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको थियो।  

‘मतदानमा अलिअलि डिस्टर्ब गर्न खोजेका ३ जनालाई पक्राउ गरेका छौं।’ रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भने ‘उनीहरुले मतपत्र च्यात्न र मतपेटिकामा क्षति पुर्याउन खोजेपछि पक्राउ गरिएको हो।’

रुकुममा जस्तै रोल्पाको उत्तरी पुर्वी भेगमा सेनाले हवाई गस्ती गरेको थियो। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सेनाले हवाई गस्ती गरेको गरेको बताए। एक सुरक्षा अधिकारीका अनुसार रोल्पाका विकट स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी गरिएको छ। त्यस्तै पुर्वी रुकुममा पनि सेनाको हवाई गस्ती भएको थियो।

निर्वाचन खारेजी अभियान सञ्चालन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले दिउँसो सम्म केहि मतदातालाई मतदान केन्द्रमा आउनबाट रोक लगाएको सूचना सुरक्षा निकायले पाएको थियो।  

पहिलेको तुलनामा यो पटक रोल्पामा निकै कम मत खसेको छ। रोल्पामा निर्वाचनको चहलपहल देखिएको छैन।

प्रकाशित: ४ मंसिर २०७९ ११:३४ आइतबार

आम निर्वाचन २०७९