समाज

मतदान केन्द्रमा अपाङगता भएका कर्मचारी

बैतडीको एक मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारी छन्।

जिल्लाको दशरथचन्द नगरपालिका–८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारीहरु खटिएका हुन्। मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै अपाङगता भएका कर्मचारी खटिएको बैतडीका सहायक निर्वाचन अधिकारी तिर्थराज आचार्यले बताए।

उनीहरुको अवस्थालाई हेरेर सतर्कता अपनाइएको र कुनै समस्या आए अन्य कर्मचारीहरु खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आफूहरुको मागका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारी प्रदान गरेको र निर्वाचन गर्न आफूहरु सक्षम रहेको मतदान अधिकृत लोकेन्द्रबहादुर चन्दले बताए। सो मतदान केन्द्रमा ८ सय ७ मतदाता रहेका छन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५० हजार  १ सय ५६ मतदाता रहेका छन्। जिल्लाका १ सय २९ स्थानमा २ सय १० वटा मतदान केन्द्रहरु छन् भने एक अस्थायी मतदान केन्द्र रहेको छ।

निर्वाचनमा २ हजार सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बैतडीमा २ हजार सुरक्षाकर्मी खटिएका छन्। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले बताए।

आइतबार हुने निर्वाचानका लागि सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्ता कडा पारिएको उनले बताए। निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको प्रहरी प्रवक्ता जोशीले बताए।

केन्द्रिय सुरक्षा योजना बमोजिम जिल्ला सुरक्षा योजना तर्जुमा गरेर सबै मतदान केन्द्रमा सुरक्षा योजना चुस्त पारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७९ १५:५१ शनिबार