समाज

विराटनगरकाे खार्जी र पुष्प मार्गमा फेला परेकाे शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर महानगरपालिका–३ को खार्जी र पुष्प मार्गमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला परेको थियो। 

यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि रातो झोलाभित्र प्लाष्टिकले बेरेर टिनको बट्टामा ‘खतरा’ लेखेर तार बाहिर निकालेको अवस्थामा वस्तु फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। 

विराटनगर–३ को एउटै वडाको अलग अलग स्थानमा एकै प्रकृतिको शंकास्पद वस्तु फेला परेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘यो शंकास्पद वस्तु बम नभई त्रास फैलाउन राखिएको वस्तु हो। उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिसपोज गरे।’  

विराटनगर–३ कै पुष्प मार्गमा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। बिहान ‘मर्निङ वक’का लागि हिँडेकाले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। यहाँ खार्जीकै जस्तो प्रकृतिमा शंकास्पद वस्तु राखिएको थियो। 

आइतबार हुन लागेको निर्वाचनमा मतदातालाई त्रसित बनाउन ‘नक्कली बम’ राखेको पाइएको डिएसपी श्रेष्ठले बताए। उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पुष्प मार्गको पौने ९ बजे र खार्जीको सवा १२ बजेतिर डिस्पोज गरेका थियो। डिस्पोज गरिएको दुवै स्थानको वस्तु बम नरहेको पुष्टि भएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

उक्त वस्तु कसले राखेको भन्ने यकिन भइसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ३ मंसिर २०७९ १२:४७ शनिबार

खतरा विराटनगर महानगरपालिका–३ खार्जी र पुष्प मार्गमा