राजनीति

निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ।

निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो।  

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए।  

त्यस्तै निर्वाचन विथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उनले उल्लेख गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने उनले जानकारी दिए। 

प्रकाशित: १ मंसिर २०७९ ११:०८ बिहीबार

निर्वाचन आयोग