राजनीति

केपी ओली गणतन्त्र विरोधी हुन्ः बिमलेन्द्र निधि

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओली गणतन्त्र र संघियता विरोधी भएको आरोप लगाएका छन्।

जनताले दुई तिहाई मत दिएको व्यक्तिले जनमतको समेत कदर गर्न नसकी संसद विघटन गर्नु  संविधान विरोधी कादम भएको उनले बताए। लोकतान्त्रिक वाम गठबन्धनले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ ले सालझन्डीमा गरेको चुनाविसभालाई सम्बोधन गर्दै नेता निधिले एमाले अध्यक्ष केपी शर्मा ओली र उनको पार्टी प्रतिगमनकारी रहेको टिप्पणी पनि गरे।

‘ओलीजीले गणतन्त्र ल्याउने विषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं’ उनले भने, ‘संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’ नेता निधिले भने। आसन्न आइतबार हुने आम निर्वाचनमा पनि ओलीले राप्रपासँग गठबन्धन गरेर प्राप्त उपलब्धी र  व्यवस्थामाथि नै आक्रमण गर्न खोजेको बताए।

संविधान, गणतन्त्र, संघीयता र समावेशिता माथि नै एमाले र ओलीका कारण खतरा रहेकाले काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक वाम गठबन्धन बनाइएको पनि निधिले  बताए। उनले सुकुम्बासी समस्या समाधान गर्नका लागि भूमि आयोग गठन गरिसकेको बताउदै निर्वाचन लगत्तै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हकिकुल्लाह खाँले व्यवस्था परिवर्तन गरेकाले अब जनताको अवस्था परिवर्तन गर्न गठबन्धन गर्नुपरेको बताए। उनले जनताको अवस्था परिवर्तन गर्नका लागि नेकपा बनाए पनि केपी ओलीले संसद विघटन गरेर संविधान मास्न खोजेकाले पाँच दलीय गठबन्धन बनेको स्पष्ट पारे। ‘संविधान विपरीत ओलीले २/२ पटक संसद विघटन गरेकै हुन, त्यसरी आफूलाई राजा महाराजा बन्न खोज्नेलाई ज्ञानेन्द्रको हालतमा पुर्‍याउँछौं’ खाँले  चेतावनी दिए।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेद्वार भरत कुमार शाहले आफूले यसअघि जनताले महसुस गर्न सक्ने र देख्ने गरी विकास गरेको भन्दै अब मानविय विकास र रोजगारीकालाय विशेष प्राथमिकता दिने बताए। उनले रूपन्देही क्षेत्र न ५ मा जनताको समस्या र विकास नै आफ्नो प्राथमिकतामा रहेको बताए।

उनले २८ वटा खानेपानी, १४ वटा पुल आफ्नै पहलमा बनेको बताउँदै थप विकासका लागि गठबन्धनलाई जिताउन अपिल गरे। उनले सुकुम्बासी समस्या समाधान ७ महिनाभित्र पूरा गर्ने पनि बताए। भौतिक विकाससँगै अब शिक्षा र स्वास्थ निःशुल्क बनाउन पहल गर्ने शाहको प्रतिबद्धता छ।

उनले केपी ओलीका कारण लाखौं नागरिक अनागरिक हुनुपरेको बताउँदै अब बन्ने गठबन्धन सरकारले त्यमे समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए। त्यस्तै लुम्बिनी प्रदेशसभा निर्वाचन क्षेत्र ५ (१) का उम्मेदवार विनोद पहाडीले विपक्षी एमालेका नेता भूमिश्वर ढकालले व्यक्तिगत स्वार्थका लागि बुटवलबाट राजधानी दाङ सारेको बताए।

उनले रूपन्देहीका जनतालाई ढाँटेर व्यक्तिगत लाभका लागि लाग्ने नेतालाई जनताले चिन्ने दिन आएको बताए। भेलामा नेकपा माओवादी केन्द्रका नेता वकिल मुसलमान, काँग्रेस नेता विष्णु पोख्रेल लगायतले बोल्दैमंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएकाले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर अग्रगमनलाई जिताउन आग्रह गरे।

प्रकाशित: १ मंसिर २०७९ ०७:४४ बिहीबार

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि