राजनीति

सत्ता गठबन्धन खरानीको डल्लो जस्तै फुटेर जान्छः ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन मंसिर ४ गतेको चुनावपछि खरानीको डल्ला जस्तै फुटेर जाने बताएका छन्।  

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावपछि सत्तारुढ गठबन्धन आफैं सकिने बताएका हुन्। उनले चुनावपछि खरानीको डल्ला जस्तै सत्तारुढ गठबन्धन फुटेर जाने बताए। मंसिर ४ को निर्वाचनबाट एमालेले बहुमत ल्याउने र त्यसपछि गठबन्धन आफैं खरानीको डल्लो जस्तो फुटिहाल्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘गठबन्धनको औचित्य आफैं सकिएर जान्छ। एमालेको बहुमत आएपछि गठबन्धन किन राख्ने अर्थ नै छैन। त्यो आफैं हराएर जान्छ। ’  

चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा कुनै द्विविधा नभएको बताउँदै अध्यक्ष ओलीले भने, ‘गठबन्धनीय सरकार अझ २० वर्षसम्म चलाउने कुरा नचाहिने, झुट र फाल्तु कुरा मात्रै हो।  यो एकअर्को दलका लागि प्रलोभन मात्र बाँडेका हुन्। ’  

‘हिजो छोरीलाई जिताउन १०/१५ वर्ष टिकाउने भन्ने कुरा गरेर जिताए। अब अहिले आफूलाई जिताउनका लागि १५/२० वर्ष टिकाउँछु भन्दै आएका छन्’ उनले भने, ‘अब फेरि अरु कसैको श्रीमती जिताउन, छोरा हुर्काउने जस्ता कुरासँग राष्ट्रिय राजनीतिको विषय किन बनाएर तपाईंहरु यस्ता प्रश्न गर्नुहुन्छ?, यो निरार्थक मात्र हो।’ 

सञ्चारकर्मीले अध्यक्ष ओलीलाई मंसिर ४ पछाडि एमालेको सरकार बनेको खण्डमा शासकीय स्वरुप परिवर्तनको मागसहित दलहरु सडकमा आउलान नि भन्ने प्रश्नमा उनले भने, ‘निर्वाचनपछि माओवादी ५ सिटमा खुम्चिँदा अस्तित्व सकिएर जाने भएकाले उनीहरु सडकमा आउने कुरा हुँदैन। अहिलको प्रणाली पनि नराम्रो छैन। तर, पनि शासकीय स्वरुप परिवर्तन गर्न धेरै ठूलो कुरो होइन। शासकीय स्वरुप परिवर्तन गर्दैमा विकास हुने नहुने भन्ने हुँदैन। ’  

नेपालमा विभिन्न शक्तिहरुको स्वार्थ र तिनीहरुले प्रभोग गरेको अवस्थामा बहुमतीय प्रणाली सफल हुन नसकिरहेको उनले बताए। 'बहुमतीय प्रणाली सफल हुन गाह्रो हुने, बहुमत नआउने तर हङ पार्लियामेन्ट हुने सधैँ अस्थिरता निम्त्याइरहने, उद्देश्य केन्द्रित नहुने प्रवृत्ती दोहोरिरहेको छ',  उनले भने, ‘खासमा अहिले भइरहेको प्रणालीमा भन्दा व्यवहारमा कमजोरी छ।’  

प्रकाशित: ३० कार्तिक २०७९ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App