राजनीति

उपमहासचिव गुरुङको दाबी: एमालेलाई बहुमतका साथ जिताए स्थिर सरकार र मुलुकको विकास हुन्छ

फाइल तस्बिर।

नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन्।  

आज सुन्दरबजार नगरपालिका-८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे।  

आफू मुख्यमन्त्री छँदा थालनी गरेका र सम्पन्न हुन बाँकी विकासका काम पूरा गर्दै जिल्लामा विकासको लहर ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे। लमजुङको विकास हेर्न र अनुभूति गर्न चाहने हो भने एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ छ। ‘विगतमा पनि जिल्लाको विकासमा लागेका थियौँ, अब पनि लाग्नेछौँ यो हाम्रो प्रतिबद्धता भयो’, उनले भने।’  

त्यस्तै, लमजुङ प्रदेशसभा २ का उम्मेदवार तथा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले आफू सधैँ जिल्लाकै विकासका लागि राजनीति गर्दै आएकाले आफूले जितेमा सबै जनता र जिल्लाको विकास र सेवामा लाग्ने बताए।  

आफूसहित एमालेका सबै उम्मेदवारलाई जिताएर दलित, लोपोन्मुख समुदाय, युवा, महिला, जतजातिलगायत सबैले विकासको अनुभूति प्राप्त गर्न उनले आग्रह गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०८:२२ बुधबार

पृथ्वीसुब्बा गुरुङ