राजनीति

गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री एवं कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रामजी बराल ‘जीवन’को उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

माओवादी केन्द्रका उम्मेदवार जीवन कालोसूचीमा रहेको दाबी गर्दै पोखरा–२४ का बोधराज रेग्मीले उजुरी दिएका हुन्। बराल उम्मेदवार हुन अयोग्य रहेको उनको उजुरीमा उल्लेख छ।  

रेग्मीले दिएको उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उनको नाम कालोसूचीमा रहेको उल्लेख छ।

कोषले २०७६ वैशाख १ गते बरालको नाम कालोसूचीमा राखेको र हालसम्म पनि नबुझाएकाले उम्मेदवार बन्न योग्य नरहेको उजुरीमा दाबी गरिएको छ।  

उनी संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले कोषबाट २०६९ फागुन २१ गते ५० लाख ऋण लिएको थियो।

२०७३ असार मसान्तसम्म बुझाउनुपर्ने सम्झौता भएता पनि उक्त रकम नबुझाएपछि जीवनसहित सहकारीमा आबद्ध १५ जनालाई कोषले कालोसूचीमा राखेको थियो।

प्रकाशित: ३० कार्तिक २०७९ ०७:३९ बुधबार

रामजी बराल ‘जीवन’