राजनीति

प्रदीप उमेर मात्रले युवा होइनन् नयाँ पुस्ता अनुसारको विचार पनि बोकेका छन्: नरहरी आचार्य

नेपाली कांग्रेसका नेता नरहरी आचार्यले काठमाडौं ५ मा प्रदीप पौेडेलको नेतृत्व आवश्यक रहेको बताएका छन्। राजधानीमा सञ्चारकर्मीसँगको छलफलमा उनले सो कुरा बताएका हुन्। आचार्यले प्रदिप उमेर मात्रले युवा नभई नयाँ सोच र कार्यशैलीको पनि प्रतिनिधित्व गर्ने बताए।

प्रदीपले देश र पार्टीलाई नयाँ बनाउने अभियानमा समेत भुमिका निभाइरहेको आचार्यको भनाई थियो। ‘उनी नयाँ पुस्ता हुन्। उमेरले मात्र नयाँ पुस्ता भनेर हुँदैन। उनको राजनीतिक गतिविधि देखेको आधारमा भन्न सक्छु  उनले नयाँ पुस्ता अनुसारको विचार र कार्यशैली अपनाएका छन्,’ आचार्यले भने, ‘कांग्रेसमा पनि परिवर्तन आवश्यक छ भन्ने आवाज छ। कांग्रेसलाई नयाँ बनाउने बाटो उनले एकदुई इटा थप्नेछन्। यी सबै आधारमा उनलाई मत दिने आधार पुग्छ।’

त्यस्तै उनले पौडेललाई काठमाडौं बाहिरको भनेर प्रचार गर्नुको कुनै तुक नरहेको बताए। उनले यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा मिश्रित खालका मतदाता रहेको र विवेक प्रयोग गर्ने गरेको विगत रहेको बताए। ‘मेरो मुल्यांकनका आधारमा काठमाडौ ५ का मतदाताको मनोविज्ञान परिवर्तनकै पक्षमा रहेको पाएको छु।

यस क्षेत्रका मतदाताले काठमाडौ बाहिरबाट आएका उमेदवार भनेर फरक मनोविज्ञान राख्ने नगरेको आफ्नो अनुभव स्मरण गरे। ‘विगतमा पनि काठमाडौ बाहिरका उम्मेदवारले नै यस क्षेत्रमा जीत हासिल गरेका हुन्। यसमा मतदाताको भिन्न मनोविज्ञान रहने गरेको छैन ,’ उनले भने,‘मलाई पनि बाहिरकै भन्थे। म पनि यहाँ पढ्न आँए। इश्वरजी पनि त काठमाडौको होइन। उहाँ ०४८ मा धनुषाबाट उठ्नुभएको हो। यस क्षेत्रका मतदाताले विगतदेखि नै विवेक प्रयोग गर्दै आएका छन्। अहिलेको मनोविज्ञान पनि परिवर्तनकै पक्षमा रहेको पाएको छु।’

प्रकाशित: २९ कार्तिक २०७९ १५:३२ मंगलबार