राजनीति

कांग्रेस मकवानपुरले गर्‍याे १६ जनालाई कारबाही

कारबाहीको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति लगायत।

निर्वाचनको संघारमा नेपाली कांग्रेस मकवानपुरले १६ जनालाई कारबाही गरेको छ। पार्टीको नीति र उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरुलाई कारबाही गरेको जानकारी दिइएको छ। 

कारबाहीमा पर्नेमा पूर्व महासमिति सदस्यद्वय भरत पराजुली र रीता खनाल रहेका छन्। पराजुली स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् भने खनाल वीपी कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवार रहेकी छिन्। 

कांग्रेसले पूर्व जिल्ला सदस्य गोपी अधिकारी, पूर्व क्षेत्रीय सभापति सुजन गोपाली, क्षेत्रीय सचिव नवराज पौडेल, भीमफेदी गाउँपालिका उपसभापति रुद्र लामा, पूर्व इकाई सभापति भीमप्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि कर्णबहादुर थिङ, नेपाल तरुण दल जिल्ला उपाध्यक्ष निराजन बर्तौला, तरुण दल जिल्ला सदस्य किशोर राना र सिरित राई, तरुण दल इकाई अध्यक्ष बुद्ध लामा, नगर कार्यसमिति सदस्य सूर्य थोकर, क्रियाशिल सदस्य रमेश ढकाल, धिरजविक्रम न्यौपाने र क्षेत्रीय प्रतिनिधि मीरा सापकोटालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कांग्रेस जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए।

‘कारबाही गरेकामध्ये धेरैजना उम्मेदवार, प्रस्तावक र समर्थक रहेका छन्। पार्टीमा फर्किन, सच्चिन अनुरोध पनि गरेको हौं । २४ घण्टे अल्टिमेटम दिएका थियौं, सार्वजनिक सूचना समेत जारी  गरेका थियौं’, जिल्ला सभापति लामाले भने, ‘अन्तिम प्रयास पनि असफल भएपछि बाध्य भएर कारबाहीको निर्णयमा पुगेका हौं। अनुशासन समितिको निर्णय बमोजिम १६ जनालाई कारबाही गरेका छौं। कारबाहीको शिलशिला जारी नै रहनेछ।’ कारबाही नगर्दा गठबन्धन र कांग्रेसका उम्मेदवारलाई क्षति हुने स्थिति भएपछि कारबाही गरेको उनले बताए। 

उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको बताइएको छ। कांग्रेसका जिल्ला सदस्य प्रभातकुमार दाहाल संयोजक र प्रवक्ता अर्जुनप्रसाद चौलागाईं र जिल्ला सदस्य रामबाबु बानियाँ सदस्य रहेको अनुशासन समितिको सिफारिसको आधारमा उनीहरुलाई कारबाही गरिएको हो। ५ वर्षका लागि पार्टीको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निष्कासन गरिएको अनुशासन संयोजक दाहालले बताए।

प्रकाशित: २९ कार्तिक २०७९ १२:०० मंगलबार