राजनीति

‘मत लिएर मन्त्री बन्छन्, फर्केर आउदैनन्’

बरियारपट्टी गाउँपालिकास्थित सुकुम्वासी डोम समुदाय दुःख सुनाउँदै । तस्विरःमिथिलेश यादव/नागरिक

बरियारपट्टी गाउँपालिका चोक नजिकै हुलाकी सडकको उत्तरपट्टि एघार परिवार मलिक (डोम) को बस्ती छ। सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन।

सुँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन। एलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा भोक र प्यास मेटाउन सरकारको कुनै राहत सहयोग पुग्दैन। यस बस्तीमा एकथान चापाकल धसाइएको छ। तर, यो चापाकलले पनि शुद्ध पानी फ्याँक्दैन, पानी तान्दा बालुवा मिसिएर आउँछ।

एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव। अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ। अहिले चारैतिर चुनावी चहलपहल छ। ‘यस बस्तीमा कत्तिको चुनाव लागेको छ ?’ जिज्ञासा राख्दा बस्तीकी श्यामकुमारी मलिक एकछिन चुप लागिन्। एकछिन घोरिएपछि उनले भनिन्, ‘चुनाव कि लग्तै, चुनाव त धनिकहाँ सबके लागल छै(केको चुनाव लाग्नु, चुनाव त धनीहरूलाई लाग्छ)। गरिब सबके असियाबै छै, बलगरहा सबके ढौवा छै(हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ)। हमरा सबके त धाके धमकी स भोट लैछै( हामीसँग त धम्क्याएरै भोट लिन्छन्)।’ उनले चुनावी अनुभूति सुनाइन्, ‘एलानीमा बस्ने हामी गरिबसँग नेतासँग दोहोरो बोल्ने साहस हुन्न।’

‘अगाडिको संसदीय चुनावमा नेता आएका थिए, थुप्रै वाचा बाँडेर गएका उनीहरू अभैm पर्केका छैनन्। मंसिर ४ को चुनावका लागि भनेर अहिलेसम्म कोही नेता आएका छैनन्’, उनले थपिन्। यस अघिको संसदीय चुनाव भएपछि पक्की घर हुन्छ, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेकी उनी भन्छिन्, ‘चुनाव जितेर नेता सांसद मन्त्री भए हामी गरिबको सास्ती उस्तै छ।’  

नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको सोही समुदायका विन्देश्वर मलिकले बताए। ‘चुनावका बेला गाउँ आएका नेता ठूलाठूला प्रतिबद्धता गरेर फर्कन्छन्, आश्वासन बाँडेर जान्छन्’, उनले भने, ‘तर चुनावपछि हाम्रो अवस्था भने उस्तै।’

‘चुनावमा यो समुदाय भोट खसाल्ने मेसिनको रुपमा प्रयोग हुँदै आएको छ’, स्थानीय बिल्टु यादवले भने, ‘चुनावका बेला प्रयोग गरेर बेहाल छाडिदिने।’ चुनावका बेला लोभ्याएर भोट लिई फर्केर अनुहार नदेखाउने नेताका कारण विपन्न समुदायमा चुनावप्रतिको उत्साह घट्दै गएको उनको बुझाइ छ।

घामपानीलाई छेक्न नसक्ने भ्वाँग परेको छाप्रोमा थलिएकी छिन्, मलभोगीया सदाय (६०)। साँघुरो छाप्रोमा कष्टपूर्ण जिन्दगी बाँच्दै आएकी उनी शारीरिक रूपमा कमजोर भएकी छिन्। तर, आसन्न संसदीय निर्वाचनमा भोट खसाल्ने उनको हौसला भने अझै मजबुत छ।

गोलबजार नगरपालिका –१० स्थित मुसहर बस्तीको जीर्ण छाप्रोको बरण्डामा ओछ्यान परेकी उनले नागरिकसँग भनिन्, ‘हमर मत स कैयन नेताके जिन्दगी बदैल गेलै(मेरो मतले कैयन नेताको जीवनमा कायापलट भयो )। मुदा हमर जिन्दगीके दुःख ओहिना छै(तर, मेरो जीवनको कष्ट जस्ताको त्यस्तै छ)।’ बिरामी भएर थलिएकी उनी भन्छिन्, ‘चुनावसम्म बाँच्न पाए भोट खसाल्ने इच्छा छ।’ पटक–पटक हामीलाई आश देखाएर भोट पाउने दल र नेतालाई यसपाली पाठ सिकाउने इच्छा व्यक्त गर्दै भनिन्, ‘अइबेर ठकैबाला नेताके नै रहै आ खाइके जोगार मिलादैबाला नेताके भोट देबै(खाना र छानाको बन्दोबस्त मिलाइदिने उम्मेदवारलाई भोट हाल्छु, आश देखाउनेलाई होइन )।’

दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोबास गर्ने बस्तीमा अधिकतम परिवारका सदस्यका आफ्नो नाममा जग्गा छैन। घर पनि ऐलानी जग्गामै छ। बरियापट्टीका विन्दे मलिक भन्छन्, ‘हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौं तर हामीसँग जग्गाको कुनै प्रमाणपूर्जा छैन। प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौं भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन्।’

बरियारपट्टी निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ। यसमा साबिकका निर्वाचन क्षेत्र नम्बर १ र २ समेटिएका छन्। यो क्षेत्रबाट दुई दशकयता तीन जना मन्त्री भएका छन्। ०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट चित्रलेखा यादवले चुनाव जितेकी थिइन्। त्यसपछि उनी २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका राजलाल यादवबाट पराजित भइन्। राजलालले चुनाव जितेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र यादवले जिते। ०७४ मा माओवादी केन्द्रका सुरेशचन्द्र दास यादवले चुनाव जिते। राजलाल विनाविभागीय मन्त्री भए भने चित्रलेखा शिक्षा मन्त्री बने। चित्रलेखा  र राजलाल दुबै यसपालि पनि चुनावी मैदानमा छन्। राजलाल स्वतन्त्र र चित्रलेखा कांग्रेसबाट उम्मेदवार छन्।

सधैं भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर ‘हाल’ बुझ्न नआउने नेतालाई यसपालि भोट नहाल्ने मनसाय विपन्न बस्तीको छ। ‘हाम्रो जीवनस्तर सुधार्न सक्ने उम्मेदवारलाई भोट हाल्छौं’, विन्दे भन्छन्, ‘हाम्रा लागि सेवासुविधाको बन्दोबस्त मिलाइदिनेलाई भोट दिन्छौं।’

गोलबजारकी मलभोगीया सदाले भनिन्,‘ गरिब त नेता बनाबै छै, नेता गरिबके दुःख कहियो नै देखैछै(गरिब त नेता बनाउने मात्र रहेछ, नेताले गरिबको दुःख कहिल्यै देख्दैन)।’

मलभोगिया मात्र होइन, मुसहर बस्तीका सबैको गुनासो उस्तै छ, ‘नेता सपना देखाएर भोट हत्याउँछन्, फर्केर आउँदैनन्।’ भोट माग्न नेता बस्ती आउँदा गुनासोको भारी बिसाएर मन हल्का गर्नुबाहेक विकल्प छैन उनीहरूसँग। कारण उनीहरू आफूलाई अझै नेताका रैती÷प्रजा ठान्छन्।

सिरहा क्षेत्र नम्बर ३ बाट ०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका थिए। यसै क्षेत्रमा पर्ने गोलबजार नगरपालिका– १० धोबियाधारकी श्यामदेवी सदायसँग यसपाली कस्तो उम्मेदवार छान्नुहुन्छ ? प्रश्न गर्दा उनले सिधा जवाफ फर्काइन, –‘हमसब नेकर छियै नेता जेकरे कहतै ओकरे भोट देबै(हामी रैती हौं नेताले जसलाई भन्छ उसैलाई भोट हाल्छौे)। रैतीले मालिकको मर्जीलाई बरखिलाप मत जाहेर गर्नै सक्दैन नी !’

यस क्षेत्रबाट ०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन्।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा रहेको सखुवानन्कारकट्टी गाउँपालिकाको मिर्जापुर स्थित सदा बस्तीका दोरिक सदायले गरिब जनता जहिल्यै नेताबाट ठगिदैं आएको बताउँछन्। ‘कसैले चुनावी प्रतिबद्धता पूरा गर्दैनन्,’ उनी दुखेसो पोख्छन्।

भोट माग्न आउँदा नेतासँग गुनासा राख्दा धेरै बोल्यौ भनेर हप्काएर चुप लगाउने गरेको उनको दुखेसो छ। नेताका सामुन्ने उनीहरू धक मानेर मधुरो स्वरमै बोल्नुपर्ने बाध्यता सुनाए। ‘गरिब भएर धेरै बोल्नु पनि भएन नी,’ उनले भने।

मिर्जापुरको मुसहर बस्तीले पहिलो मधेस आन्दोलनमा प्रमोद सदायलाई गुमाए। मधेस आन्दोलनमा बलिदानी दिएका प्रमोदको बस्ती नमुना बनाउने उतीबेला मधेसी नेताले ढाडस दिएका थिए। तर, एक दशक बित्यो, बस्तीको हविगत ज्यूँकात्यूँ छ। सुकुम्बासी बस्तीका सर्वसाधारण ‘दिन खाएर रातको चिन्ता, रात खाए दिनको चिन्ता’ले पिरोलिएका छन्। उनीहरूको नेताप्रति सकारात्मक धारणा छैन। आफूहरूलाई ‘भोट ब्यांक’का रूपमा मात्र नेताले प्रयोग गर्दै आएको उनीहरूको बुझाई छ। तर, नेतासमक्ष उनीहरू असन्तुष्टि खुलेर राख्न सक्ने हिम्मत जुटाउन सकेका छैनन्।

बस्तीका लक्ष्मण सदायले गुनासो राखे– २०६४ सालमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत पक्की घर निर्माणका लागि बस्ती छनोट भइसकेको थियो। तर, नेताहरूको स्वार्थले बस्तीमा कार्यक्रम लागू भएन्। यहाँको योजना काटेर नेताहरूले आफू अनुकूल क्षेत्रमा कार्यक्रम चलाए। उनले भने, ‘नेताहरूकै कारण हाम्रो पक्की घर सर्ने सपना तुहियो।’ यसपालीको निर्वाचनमा बस्तीका मतदाताले उम्मेदवारसँग घरको सर्त राख्ने योजना बनाएका छन्। ‘अब उधारो आश्वासनले हामी पग्लिनेबाला छैनौं,’ उनी भन्छन्, ‘घरको सपना पूरा गर्नेलाई भोट हाल्छौं, सपना बाँड्नेलाई होइन।’

सिरहा क्षेत्र नम्बर १ बाट ०७४ को संसदीय निर्वाचनमा नेकपाली कांग्रेसका प्रदीप गिरी निर्वाचित भएका थिए। दुई दशकमा यस क्षेत्रबाट नेपाली कांग्रेसका पद्म नारायाण चौधरी, मधेसी जनअधिकार फोरमका लक्ष्मण मेहता, नेकपा एमालेबाट रामचन्द्र यादव निर्वाचित भएका छन्। निर्वाचित यी सबै सांसद मन्त्री भए। तर, यस क्षेत्रका सुकुम्वासी मुसहर र डोम समुदायको दुःख दूर नभएको उनीहरु बताउँछन्।

नेपालको संविधान–२०७२ को भाग ३ मा व्यवस्था गरिएको मौलिक हक भित्रको धारा ३६ मा खाद्य सम्बन्धि हकले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा हुने जीवनको जोखिमबाट सुरक्षित गर्ने व्यवस्था गरेको छ। त्यस्तै, धारा ४० मा दलितको हक सम्बन्धि व्यवस्थामा आवासविहीन दलितलाई कानुनबमोजिम बसोवासको व्यवस्था गर्ने भनिएको छ।

त्यसैगरी धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनि उल्लेख गरिएको छ।

यी मौलिक हकबाट यहाँका सुकुम्बासी मुसहर र डोम वञ्चित छन्। दलका नेताको बेपर्वाहले ‘मुसहर जन पेरवा धन’ मैथिली पुरातन उखान अहिलेसम्म चरितार्थ भइरहेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०३:३२ मंगलबार

आम निर्वाचन २०७९