राजनीति

कास्की–३ (ख): राजीव पहारी र प्रकाश बरालसामु हिमाली क्षेत्रको चूनौती

मतदाता भन्छनः पर्यटन र जलवायु परिवर्तन बुझे मात्र सच्चा प्रतिनिधि

कास्की ३ (ख) का उम्मेदवार प्रकाश बराल (बायाँ) र राजीव पहारी (दायाँ)। तस्बिरः नागरिक

कास्की–३ को अधिकांश भेगले पर्यटकीय क्षेत्र समेट्छ। पोखरा महानगरपालिकाका ११ वटा वडा सहित अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका यो क्षेत्रमा समेटिएका छन्। पोखरा–६ पूर्ण रुपमा पर्यटकीय क्षेत्र हो। यो लेकसाइड हो। त्यसबाहेक विश्वमै चिनिएको अन्नपूर्ण आधारशिविर क्षेत्र (एबिसी) पनि यही निर्वाचन क्षेत्रमा पर्छ।

आसन्न प्रतिनिधिसभा निर्वाचन जितेर पर्यटकीय क्षेत्र हाँक्ने आकांक्षा लिएका एमालेका दामोदर बैरागी र माओवादीका रामजीप्रसाद बराल यतिबेला प्रतिस्पर्धामा छन्। प्रदेशसभामा भने कास्की ३ (क)मा एमालेका गणेशमान गुरुङ र माओवादीका दुर्गादत्त भण्डारी उम्मेदवार छन्। कास्की ३ (ख) मा भने युवा नेताद्वय एमालेका तर्फबाट राजीव पहारी र कांग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन्।  

युवा नेता पहारी र बरालका कारण कास्की ३(ख)अझ बढी चर्चामा छ। यो क्षेत्रमा अन्नपूर्ण गाउँपालिका सहित पोखरा महानगरका ५, ६, २२, २३ र २४ नम्बर वडा पर्छन। पोखरा–५ मालेपाटन सहरी क्षेत्र हो। ६ नम्बर वडा भने पूर्ण रुपमा पर्यटकीय क्षेत्र पर्छ । लेकसाइड र आसपासका क्षेत्र यसमा पर्छन। २२ पुम्दी, २३ चाँपाकोट र २४ कास्कीकोट ग्रामिण क्षेत्र हुन्। ग्रामिण क्षेत्र भएपनि यी गाउँ सहरोन्मुख छन। पर्यटनले चिनाएको क्षेत्र भएकोले पनि यो क्षेत्रलाई विश्वले नै चिनेको छ।

सिंगो अन्नपूर्ण गाउँपालिका पर्यटकीय गाउँ हो। चर्चित पर्यटकीय क्षेत्र घान्द्रुक, छोमरोङदेखि अन्नपूर्ण आधारशिविर (एबिसी), माछापुच्छे« आधारशिविर (एमबिसी) सम्मको सबै क्षेत्र कास्की ३(ख) मा समेटिएका छन्। भौगोलिक रुपमा दुर्गम भेग यो क्षेत्रमा पर्छ। त्यत्ति मात्र नभई प्राकृतिक रुपमा पनि यो क्षेत्रले चुनौती भोग्दै आएको छ। बेलाबेला आधारशिविर क्षेत्रमा प्राकृतिक प्रकोप आइपर्ने गरेको छ। पर्यटनमै नाम कमाएकोले यो क्षेत्रप्रति धेरैको चाँसो रहन्छ।  

बेलाबेलाका प्राकृतिक प्रकोपका कारणले पनि यो क्षेत्र चर्चामा आउँछ। हिमपात, हिमआँधी, हिमपहिरोको चपेटामा बेलाबेला आधारशिविर क्षेत्र पर्छ। त्यत्तिमात्र नभई हिमपहिरोको कटानले आधारशिविर क्षेत्र नै जोखिमपूर्ण बन्दै गएको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) गाउँपालिकाको ११ नम्बर वडामा पर्छ। यो क्षेत्र पूर्णरुपमा पर्यटनमा निर्भर रहेकोले मतदाताले पर्यटनमैत्री पूर्वाधारको अपेक्षा गरेका छन्। अब चुनिने जनप्रतिनिधिले जलवायु परिवर्तनको असर चिन्नसक्ने खालको हुनुपर्ने स्थानीयको माग छ।

पर्यटनमै निर्भर गाउँ रहेकोले पर्यटनका लागि आवश्यक पर्ने सबैखाले सुविधा गाउँलेले पर्खेको उनीहरु बताउँछन्। ‘पर्यटनमैत्री पूर्वाधार आवश्यक छ। पर्यटनले नै यो क्षेत्र जोगाएको छ,’ पर्यटन व्यवसायी दिलिप गुरुङ भन्छन्, ‘पर्यटनलाई नै आधार मानेको क्षेत्र भएकोले पनि त्यही अनुसार विकासको अपेक्षा छ। सिंगो गाउँका बासिन्दाको बाच्ने आधार पर्यटन हो। पर्यटन हुन नसके यो क्षेत्र नै रहँदैन। त्यसैले अबको आवश्यकता पर्यटनका लागि हुनुपर्छ।’

गुरुङका अनुसार अन्नपूर्ण पदमार्ग क्षेत्र अझै पनि पूर्ण रुपमा सबैखाले पर्यटनका लागि पहुँचयुक्त हुन सकेको छैन। आधारशिविरसम्म जान खोज्ने, तर, पहुँच नहुँदा सबैखाले पर्यटक माथि उक्लिन नसक्ने अवस्था छ। त्यसबाहेक पदमार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुल आवश्यक रहेको उनले बताए। सबैभन्दा महत्वपूर्ण त यो ठाउँ अहिले पनि संचारविहीन जस्तै छ। संचार सम्पर्क प्रभावकारी नभएको उनले बताए। ‘अलिकति मौसममा खराबी आयो भने हामी संचार सम्पर्कबाट विच्छेद हुन्छौ। राम्रोसँग सञ्चार हुँदैन। विद्युतीकरण भएको छैन,’ उनले भने, ‘ती पूर्वाधारतर्फ पनि अबका जनप्रतिनिधिले ध्यान दिनुपर्छ।’

भौतिक पूर्वाधार बहेक जलवायु परिवर्तनको असर यो क्षेत्रमा अधिक छ। तर, राजनीतिक दलले बुझ्न नसकेको मतदाताको गुनासो छ। ‘आधारशिविर नै हिमपहिरोको कटानमा पर्दै आएको छ। बेलाबेला पदमार्गमा हिमपहिरो खस्दा मानवीय क्षति हुने गरेको छ,’ उनले भने, ‘अबका दिनमा पदमार्गको मौसमी जानकारी दिने उपाय अपनाउनु आवश्यक छ। प्राकृतिक प्रकोप आउनुभन्दा अगावै जानकारी दिने ‘अर्लि वार्निङ सिस्टम’  राख्न पनि ध्यान दिनुपर्छ।’

घान्द्रुकका अर्का स्थानीय ललित गुरुङ पनि पर्यटकीय क्षेत्र भएकोले त्यही अनुसार मतदाताले अपेक्षा राखेको बताउँछन्। ‘मुखले मात्र काम गर्छु भन्ने, तर, पाँचवर्षमा केही सिन्को नभाच्ने जनप्रतिनिधि अन्नपूर्ण क्षेत्रले खोजेको होइन,’ उनले भने, ‘जनताका आवश्यकता बुझ्न सक्ने प्रतिनिधि चाहिएको हो। पर्यटनमैत्री माहोल बुझ्न सक्ने नेता यो क्षेत्रले खोजेको हो।’ जलवायु परिपवर्तनले ल्याएको आधारशिविर सम्मको विनासलाई जोगाउने गरि ध्यान दिनसक्ने प्रतिनिधि आवश्यक रहेको उनले बताए।  

चुनावी मैदानमा रहेका एमालेका पहारी एमालेकै भातृ संगठन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष समेत बनेका व्यक्ति हुन्। उनी यसअघि पनि प्रदेशसभा सदस्य बनिसकेका छन्। पहारीका प्रतिस्पर्धी बराल भने जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको रुपमा कार्यरत थिए। २६ वर्षसम्म निरन्तर जागिर गरेका प्रकाशले कास्की–३(ख)बाट टिकट पाउने पक्का भएपछि जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुख पदबाट अवकाश लिए । उनी कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचिव हुन।  

दुवै उम्मेदवारले अन्नपूर्ण क्षेत्र भौगोलिक रुपमा दुगर्म रहेकोले त्यही अनुसार काम गर्नुपर्ने बताउँछन्। ‘अबको समयमा पनि जनप्रतिनिधिलाई भेट्न मतदाताले पाँचवर्ष कुनुपर्ने अवस्था आउन दिनुभएन। जनताका अपेक्षाप्रति जानकार हुन सकेमा मात्र त्यो जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुन्छ,’ बरालले भने, ‘दुर्गम भेग भएकोले त्यही अनुसार स्थानीयलाई साथ दिनुपर्ने छ।’ उनले जनताका अत्यावश्यक आवश्यकता पूरा नभएकोले ती काम आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताए।

‘अरुतिरका भन्दा फरक आवश्यका यहाँ छन्। बाटो पानी, बिजुलीको समस्या अझै छ । दुर्गम भेग भएकोले ती पूर्वाधारबाट यहाँका बासिन्दा बञ्चित छन,’ बरालले भने, ‘पर्यटकीय क्षेत्र भएकोले पनि आवश्यकता केही भिन्न छन्। पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन, पर्यटनबाट थप आम्दानी दिलाउन, जनतालाई स्वरोजगार बनाउन आवश्यक छ।’ जलवायु परिवर्तनको चुनौतीसँग जुधिरहेकोले यो क्षेत्रलाई प्राकृतिक प्रकोपबाटै जोगाउनमा ध्यान दिनुपर्ने बरालले बताए।  

अर्का उम्मेदवार पहारी अन्नपूर्ण क्षेत्र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य भएकोले पर्यटनमै अपार सम्भावना हुँदा त्यतातिर चाँसो दिनुपर्ने बताउँछन्। पर्यटन, प्राकृतिक श्रोत साधन, जडिबुटी पाइने क्षेत्र भएकोले पनि यो भेगको आवश्यकता प्रदेश र संघीय सरकारलाई पनि रहेको उनले बताए। ‘प्रदेशलाई समृद्ध बनाउने आधार बोकेको क्षेत्र हो। पर्यटकीय सम्भावना बोकेपनि भूबनोटका कारण विकट छ। अबका दिनमा यो क्षेत्रका जनताको जीवनस्तर उकास्ने खालका काम गर्नुपर्छ,’ पहारीले भने, ‘घरघरमा खानेपानी, पुलपुलेसा, बाटोघाटो जस्ता आवश्यकतालाई अब पुरा गर्नुपर्छ।’ अघिल्लो कार्यकालका अपुरा काम पुरा गर्न यो पटक चुनावी मैदानमा खटेको उनले बताए।

प्रकाशित: २८ कार्तिक २०७९ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App