राजनीति

निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड

सुरक्षाकर्मीलाई स्यानीटरी प्याड वितरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयानिधि ज्ञवाली। तस्विरः संगम/नागरिक

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड वितरण गरिएको छ। जिल्ला प्रहरी कार्यालयले निर्वाचनको सुरक्षार्थ खटिने महिला सुरक्षाकर्मीलाई सहयोगी संस्थासंगको साझेदारीमा प्याड वितरण गरेको हो।  

आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टे«डर्ससँगको समन्वय र इन्सेक बागलुङसंगको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३१८ जना महिला सुरक्षाकर्मीलाई एक महिनालाई पुग्ने सेनीटरी प्याड उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।  

‘हेर्दा सामान्य जस्तो विषय लागे पनि यो महत्वपूर्ण हो भन्ने हामीलाई लाग्छ,’ उनले भने, ‘निर्वाचनमा तैनाथ भएको बेला हुने प्राकृतिक क्रियाले अप्ठ्यारो नपरोस भन्ने सोचेर वितरण गरिएको हो।’ निर्वाचनको सुरक्षामा खटिने ६७ जना महिला प्रहरी र २५१ जना महिला म्यादी प्रहरीलाई सामग्री हस्तान्तरण गरेको उनले बताए।  

महिला सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री साथमै राख्ने गरी व्यवस्थापन गर्न सुझाव तथा निर्देशन गरेको एसपी ज्ञवालीले बताए। महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडसंगै निर्वाचनमा खटिने सबै सुरक्षाकर्मी टोलीलाई प्राथमिक उपचारको औषधी वितरण गरिएको छ।

उनीहरुलाई सिटामोल, सुगर, प्रेसरका सामान्य औषधी तथा प्राथमिक उपचारका अन्य साम्रगी प्रदान गरिएको छ। कार्य क्षेत्रमा खटिएको बेला महिनावारी हुँदा महिलाहरुलाई समस्या नहोस् भन्ने हेतुले स्यानिटरी प्याड सहयोग गरेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताइन्। ‘हुन त यो हामी महिलालाई प्रकृतिले दिएको वरदान हो,’ उनले भनिन्, ‘त्यै पनि पिरियडको बेला हामीलाई अप्ठ्यारो हुन्छ। निर्वाचनको समयमा गाउँमा खटिएको बेला पिरियड हुँदा सहजै प्याड किन्न नसक्ने अवस्था हुनसक्छ। त्यसलै हामीले सहयोग गरेका हौं।’

प्रकाशित: २८ कार्तिक २०७९ ०८:०० सोमबार

स्यानीटरी प्याड