राजनीति

‘चुनावपछि गठबन्धनकै सरकार बन्छ, संघ र प्रदेशबाट बजेट ल्याएर विकास गर्न सजिलो हुन्छ’: राठौंर

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर। तस्बिर: अर्जुन ओली/नागरिक

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले निर्वाचन पश्चात संघ र प्रदेशमा काँग्रेससहित गठबन्धनकै सरकार बन्ने बताएका छन्। गठबन्धनको सरकार बन्ने भएकाले विकास निर्माणका लागि संघ र प्रदेश सरकारबाट सहज रुपमा बजेट आउने उनले प्रष्ट्याए।  

‘हिजोका दिनमा एमाले सरकारमा जाने अवस्था थियो, अहिले त एमाले सरकारमा जाने अवस्था नै छैन, देशभरी गठबन्धन गरेका छौं, देशैभर गठबन्धनले जित्ने अवस्था छ,’ क्षेत्र नम्बर ३ अन्र्तगत जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरमा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले भने ‘चुनावपछि हामै्र सरकार बन्छ, संघ र प्रदेशबाट बजेट ल्याउन सजिलो हुन्छ र विकास निर्माणले गति लिन्छ।’ एमालेलाई मतदान गरेर आफ्नो अमुल्य मत खेरा नफाल्न उनले सर्बसाधारणलाई आग्रह गरे।  

‘म प्रतिनिधीसभा सदस्य पदको उम्मेदवार छु, बादशा कुर्मी जी प्रदेशसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ,’ उनले भने ‘हामी दुबै जना उम्मेदवारलाई रुख चिन्हमा मतदान गरेर जिताउनुस्, संघबाट मैले ल्याउँछु, प्रदेशबाट बादशा जीले बजेट ल्याउनु हुन्छ, अनि यहाँको विकासले फड्को मार्छ।’ आपसी मतभेद र तिक्ततालाई हटाएर दुबै उम्मेदवारलाई मतदान गर्न नेता राठौंरले विशेष आग्रह गरे।  

क्षेत्र नम्बर ३ मा सुकुम्बासी, भुमिहिन, सिचाई, मल अभाव लगायत थुपै समस्या रहेको कुरा आफुले पाएको भन्दै नयाँ बन्ने सरकारले यि सबै समस्याको समाधान गर्ने बताए। बाँकेमा स्वर्गिय सुशिल कोइरालाले ल्याएको सिक्टा सिचाइँ आयोजनाबाट पानी सञ्चालन हुन नसकिरहेको अवस्थामा सिक्टालाई सञ्चालन गर्न आफुले विशेष पहल गर्ने प्रतिवद्धता जनाए।

‘मैले पाँच वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गर्न सकिएन भने अर्को पटक मत माग्न नआउने भनेको छ, यहाँ सिँचाईको समस्या छ, तटबन्धनको समस्या छ, यत्रो सिक्टा सिचाई आयोजना छ, तर खेतबारीमा पानी छैन,’ उनले भने। नेपाली काँग्रेसले यसअघि सरकारको नेतृत्व गर्ने बित्तिकै वृद्ध भत्तालाई ६५ वर्षमा झारेपनि केपी ओली सरकारमा जाने बित्तिकै त्यसलाई हटाइदिएको बताए।  

यस्तै बाँके, प्रदेश सभा ३(२)का उम्मेदवार बादशाह कुर्मीले आफु निर्वाचित भएपछि सबै जाती, भाषा, धर्म, समुदायका लागि काम गर्ने बताए। जानकी गाउँपालिकाभित्र रहेका किसान, भुमिहिन, सर्बसाधारण नागरिकका समस्याप्रति आफु गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए।  

प्रकाशित: २७ कार्तिक २०७९ १०:०२ आइतबार

किशोरसिंह राठौर