राजनीति

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा: गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्।

आज बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उनले भ्रष्ट प्रवृत्ति अन्त्य नहुँदासम्म सुशासन स्थापना गर्न नसकिने भएकाले यसको अन्त्य नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरे।  

वाम–लोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गुरुङले देशमा मौलाएको भ्रष्टाचार तथा भ्रष्टाचारजन्य प्रवृत्तिलाई  खोजीखोजी निर्मूल गर्नु आजको आवश्यकता हो भने।  

'देशको विकास हुन नसक्नु र देश अधोगतितर्फ धकेलिनुको पछाडि भ्रष्टाचार जोडिएको छ', उनले जोड दिए, 'जबसम्म भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्न सक्दैनौँ तबसम्म देशको विकास सम्भव छैन, तसर्थः देशमा भएका भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएका ठूलासाना सबैलाई कानुनको कठघरामा उभ्याउनै पर्छ।'

जोखिमयुक्त अवस्थामा रहेका स्याङ्जाका ग्रामीण सडक स्तरोन्नति, जिल्लाको लाइफलाइनका रुपमा रहेको सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टु लेन’ को सडक बनाउने, जिल्लामा प्रविधियुक्त र दक्ष उपकरणहरुसहित सुविधासम्पन्न अस्पताल निर्माण, स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थानीय शिक्षाको विकास, नीतिगत तथा कानूनी समस्या संशोधनका लागि आवाज, भौतिक पूर्वाधारको विकासमा जोड, पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचानसँगै त्यसलाई आर्थिक आम्दानीका रुपमा विकास गर्ने, उद्यमशीलताका क्षेत्रलाई प्राथमिकता दिने र युवालाई स्वदेशमै रोजगार बनाउने अन्य एजेण्डा रहेका छन्।

क्षेत्र नं २ मा कांग्रेस केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याललगायत अन्य दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: २७ कार्तिक २०७९ ०९:०३ आइतबार

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ