स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पटकपटक जितेको मोरङ क्षेत्र नम्बर २ मा उनकै छोरी सुजाता कोइराला उम्मेदवार बनेकी छिन्। बावुको विरासत जोगाउने ध्याउन्नमा उनले यतिबेला चुनाव प्रचार प्रसारलाई तिव्रता दिइरहेकी छिन्।
मोरङ क्षेत्र नम्बर २ का पुराना मतदातालाई गिरिजाप्रसाद कोइरालाको सम्झना अझै पनि ताजै छ। पुराना मतदाता गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा उनकै छोरी उम्मेदवार भएकाले उनलाई नै मतदान गर्ने मनस्थितिमा छन्। नयाँ पुस्ताको ध्यान तान्ने प्रयासमा पनि कोइरालाले कुनै कसर बाँकी राखेकी छैनन्। विशेष गरी महिला मतदातामाझ कोइरालाले आफ्नो प्रचार केन्द्रित गरेकी छिन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थोरै मात्रै महिला उम्मेदवार हुने गरेको र महिलाका समस्या समाधानका लागि महिलाको प्रतिनिधित्व जरुरी रहेको भन्दै कोइरालाले महिलाहरूलाई केन्द्रित गरेर चुनाव प्रचार अघि बढाएकी छिन्। त्यसो त नेपाली कांग्रेसका उम्मेदवारका लागि यो क्षेत्र त्यति गाह्रो क्षेत्र हैन। २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल निर्वाचित भएका थिए।
गिरिजाप्रसाद कोइरालापछि यस क्षेत्रमा नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायले निर्वाचन लड्दै आएका थिए। पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका उपाध्याय दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भएका थिए। २०७४ को निर्वाचनमा नेकपा एमालेबाट ऋषिकेश पोखर यस क्षेत्रबाट उम्मेदवारी दिएका थिए। तर, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग उनि पराजित भए।
यो क्षेत्रबाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस भएको थियो। रिजाललाई पछि पार्दै कोइराला यस क्षेत्रका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट पाउन सफल भइन्। कांग्रेसबाट सुजाता कोइराला चुनावी प्रतिस्पर्धामा उत्रँदै गर्दा नेकपा एमालेबाट ऋषिकेश पोखरेल नै प्रतिस्पर्धामा छन्। नेकपा एमाले मोरङका अध्यक्षसमेत रहेका उनी आक्रमक रूपमा चुनावी प्रचारमा छन्। पोखरेलले निर्वाचनको प्रचारप्रसारमा ‘देखिने र भेटिने उम्मेदवार’ को नारा नै लगाएका छन्। सुजाता कोइरालालाई देखिने उम्मेदवार र आफूलाई भेटिने उम्मेदवारका रूपमा चित्रित गर्दै आएका छन्।
बावुको विरासत भए पनि सुजाता कोइराला यस क्षेत्रबाट पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेकी हुन्। कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–५ बाट उम्मेदवारी दिएकी थिइन्। तर, उनी त्यस क्षेत्रमा पराजित भइन्। त्यसपछि उनले सुनसरीई छाडिन्। उनि २०६६ सालमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएकी थिइन्। कोइराला दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी थिइन्। २०७४ सालको निर्वाचनमा पनि कोइरालाले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दाबी गरेकी थिइन्। तर, डा. मीनेन्द्र रिजालले टिकट पाए। रिजालले टिकट मात्रै पाएनन् निर्वाचितसमेत भए। २०७४ को निर्वाचनमा मोरङको क्षेत्र नम्बर २ मा मात्रै नेपाली कांग्रेस निर्वाचित भएको थियो। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए। उक्त निर्वाचनमा नेकपा एमाले र माओवादीले बाम गठबन्धन बनाएर चुनावी प्रतिश्पर्धामा उत्रिएका थिए। तर, यतिवेला अवस्था बदलिएको छ।
२०७९को निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूले वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले जितेको क्षेत्रमा माओवादीसहितको गठबन्धन भएकाले चुनाव जित्न सहज रहेको कांग्रेसका नेताहरूको विश्लेषण छ। तर, गठबन्धन भए पनि कांग्रेसभित्र नै समस्या रहेको नेताहरू बताउँछन्। मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसको असन्तुष्ट समूहलाई रिझाउन सके कोइरालाको जित सहज हुने नेताहरू बताउँछन्। मोरङ क्षेत्र नम्बर २ को टिकट पाउने विषयमा नेता मीनेन्द्र रिजाल र कोइरालाबीच ठूलो प्रतिश्पर्धा देखिएको थियो। सुजाताले टिकट पाए पनि यस क्षेत्रका निवर्तमान सांसद डा रिजाल अझै असन्तुष्ट छन्। रिजालसँगको सम्बन्धलाई सुधार गरेर कोइरालाले रिजालको सहयोग अझै लिन नसकेको नेताहरूको गुनासो छ। रिजालसँगको सम्बन्ध सुधार गरेर निर्वाचनमा सहयोग लिननसके सहज परिस्थितिमा असहज नतिजाको समाना गर्नूपर्ने अवस्था आउनसक्ने स्थानीय नेता कार्यकर्ताको विश्लेषण छ। मोरङको अन्य निर्वाचन क्षेत्रमा चुनावी प्रचारमा व्यस्त रहेका नेता रिजाल क्षेत्रनम्बर २ मा भने अझैसम्म पुगेका छैनन्।
पटकपटक प्रधानमन्त्री भएर पनि गिरिजाप्रसाद कोइरालाले मोरङ क्षेत्र नम्बर २ केहि काम नगरेको र सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा पनि क्षेत्र नम्बर २ लाई वेवास्था गरेका कारण एमालेको उम्मेदवारलाई यस क्षेत्रमा चुनाव जित्न सहज रहेको एमाले नेताहरूको विश्लेषण छ। यति मात्रै हैन सुजाता कोइरालाले मोरङको क्षेत्रनम्बर २ मा लामो राजनीतिक कालमा कुनै योगदान नगरेको तर, एमालेका उम्मेदवार ऋषिकेश पोखरेल स्थानीयको सुख दुःखको साथी भएका कारण पोखरेललाई जनता रुचाएर जिताउने एमालेका स्थानिय नेताहरू दाबी गर्दछन्। यति हुँदाहुँदै पनि एमालेका उम्मेदवारलाई आफ्नै नेता, कार्यकर्ताले विश्वासघात गर्ने ठूलो डर छ।
विगतमा एक ढिका रहेको मोरङ एमालेमा यो निर्वाचनको टिकट वितरणका क्रममा ठूलै खटपट देखिएको थियो। नेतृत्वले एकलौटी निर्णय गरेको आरोप लगाउँदै एमालेका जिल्ला सचिव रूपेश खतिवडालगायतका नेताहरूले एमाले नै छाडेका थिए। पोखरेलले मोरङका नेता कार्यकर्ताको चित्त बुझाउन नसकेको र एमाले मोरङलाई एक ढिका बनाउन नसकेको गुनासो एमालेभित्र व्यापक रहेको छ। यहि कारण एमालेकै एक खेमा पोखरेलविरुद्ध अघोषित रूपमा उभिनसक्ने भय एमालेलाई छ। एकातिर कांग्रेस–माओवादीलगायतका दलसँग गठबन्धन गरेर निर्वाचनमा उत्रिएको र अर्कोतर्फ एमाले भित्र आन्तरिक द्वन्द्व र असन्तुष्टि छताछुल्ल भएका कारण पोखरेललाई यो निर्वाचन त्यति सहज भने देखिएको छैन।
यस्तो छ अंकगणित
मोरङ क्षेत्र नम्बर–२ बाट २०७४ सालको निर्वाचनमा डा. रिजाल ३५ हजार ८ सय १९ मतसहित विजयी हुँदा एमाले उम्मेदवार संविधानसभा सदस्य पोखरेलले ३४ हजार १४ मत पाएका थिए। सोही निर्वाचन क्षेत्रको प्रदेश (क) बाट नेपाली कांग्रेसका शिवनारायण गनगाई १६ हजार ४ सय १८ मतसहित बिजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गणेश उप्रेतीले १५ हजार १ सय ७ मत पाएका थिए। प्रदेशको निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३ सय ८६ मतसहित बिजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार घणिन्द्रबहादुर कुँवरले १७ हजार १ सय २७ मत पाएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा कांग्रेसबाट बहुमत वडाध्यक्षसहित प्रमुखमा रविन राईले जितेका थिए। सुनवर्षीमा कांग्रेसका कालीप्रसाद दास विजयी भएका थिए। रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाका अधिकांश वडा कांग्रेसले जितको थियो। गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले पकड गुमाएको छ। रतुवामाईको प्रमुखमा कांग्रेस बिजयी भएपनि उपप्रमुख र बहुमत वडा अध्यक्ष एमालेबाट विजयी भएका छन्। सुनवर्षी नगरपालिकाको बहुमत वडा सहित प्रमुख–उपप्रमुख एमालेले जितेको छ। रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा अधिकांश वडाहरू एमालेले जितेको छ। क्षेत्र नम्बर २ मा पर्ने वडाहरूमा स्थानीय तह निर्वाचनमा एमालेले ३१ हजार ३४० मत पाएको थियो। कांग्रेसले २८ हजार ६ सय १४ मत पाएको थियो। माओवादी केन्द्रले ७ हजार २ सय ७१ र जसपाले ४ हजार ३ सय ४६ मत पाएको थियो।
को हुन् कोइराला ?
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्। राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्म भए पनि २०४८ साल पछि मात्रै उनले सक्रिय राजनीति थालेकी हुन्। उनलाई बाबु गिरिजाप्रसाद कोइरालाले आफ्नो उत्तराधिकारीका रूपमा राजनीतिमा स्थापित गराएका हुन्। कोइराला २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उपप्रधान तथा परराष्ट्र मन्त्री भएकी थिइन्। दोस्रो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले शपथ ग्रहण गरेको केही समयपछि पश्चिम जर्मनीको स्थायी बसोबास छाडेर सुजाता कोइराला नेपाल आइन्। सुजाताले जर्मन नागरिकसित विवाह गरेकी थिइन्। नेपाल फर्किएपछि उनको नागरिकता फेरि सुजाता कोइरालाको नाममा बन्यो र उनले मोरङमा सक्रिय राजनीति सुरु गरिन्। बालिका विद्यालयमा पढाइरहेकी आमा सुष्माको मृत्यु २०२४ सालमा स्टोब पड्किएर भएको थियो।
नेपाल फर्किएपछि सुजाताले आमाका नाममा सुष्मा कोइराला मेमोरियल ट्रस्ट खडा गरिन् र यसैका नाममा सामाजिक कामलाई माध्यम बनाएर मोरङको तत्कालीन क्षेत्र नम्बर १ मा राजनीति गर्न थालिन्।
कोइराला परिवार भित्रको आन्तरिक राजनीतिका कारणले सुजाताले २०५६ को आमचुनावमा सुनसरीको क्षेत्र नम्बर १ (धरान–इटहरी क्षेत्रमा पर्ने) बाट अन्तिम समयमा टिकट पाइनन्। उनलाई टिकटबाट वञ्चित गर्न कोइराला परिवारभित्रका उत्तराधिकारका अन्य सबै प्रतिस्पर्धी एकजुट भए। पहिलो संविधानसभा २०६४ मा उनले आफूले २०४८ देखि चुनाव लड्दै आएको सुनसरीको क्षेत्र नम्बर ४ मा पुत्री सुजातालाई टिकट दिएरै छाडे। सुनसरी क्षेत्र नम्बर ४ मा गिरिजाप्रसादले आफू चुनाव लडुन्जेल यो क्षेत्र नछाड्ने र छाडेपछि यसै क्षेत्रका मुस्लिम समुदायका कुनै वरिष्ठ नेतालाई टिकट दिने वाचा गरेका थिए। यस वाचाका विपरीत सुजाताले टिकट पाएपछि उनका पक्षमा लहर आएन, उनी हारिन्। यो क्षेत्र २०१५ सालमा वीपीदेखि २०४८ देखि ५६ सम्म गिरिजाप्रसादले चुनाव लडेको भूगोलमा पर्छ।
को हुन् पोखरेल ?
ऋषिकेश पोखरेल नेकपा एमाले मोरङका अध्यक्ष हुन्। २०६९ सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्रनम्बर १ (हालको) २ बाट संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि पोखरेलले राजनीतिक उचाइ लिएका हुन्। उक्त निर्वाचनमा नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गर्दै पोखरेल संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०५२ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु सभापति हुँदै स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल काउन्सील प्रमुखसमेत बन्न सफल भए। विद्यार्थी राजनीति छाडेपछि पार्टीको राजनितिमा लागेको पोखरेलले जिल्ला कार्यालय सचिव भएर काम गरे। २ कार्यकाल नेकपा (एमाले) मारङको जिल्ला कमिटी सदस्य भएका पोखरेलले पार्टीको २ कार्यकाल सचिव भएर काम गरे। माओवादी केन्द्रसँग पार्टी एकतापश्चात बनेको तत्कालीन नेकपा मोरङको अध्यक्ष र सर्वोच्च अदालतको फैसलापछि दुवै पार्टी पूर्वअवस्थामै फर्किएपछि अध्यक्षमा निरन्तरता पाए। त्यसको केही समयपछि २०७८ साल पुस २३ र २४ गते विराटगरमा सम्पन्न एमाले मोरङको नवौं अधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रकाशित: २७ कार्तिक २०७९ ०१:३५ आइतबार