राजनीति

लुम्बिनी प्रदेश: आन्तरिक किचलोले दुवै गठबन्धनमा पिरलो

लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिसभामा २६ जनाको प्रतिनिधित्व हुन्छ। २६ वटा निर्वाचन क्षेत्रमा मुख्य रूपमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन प्रतिस्पर्धामा छन्। २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पालिकाका वडाध्यक्षहरूले पाएको मत र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको छ।

कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्राप्त गरेको मत र एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको मतलाई पनि राखेर यो विश्लेषण गरिएको हो।  

स्थानीय तह चुनावमा दलहरूले प्राप्त गरेको मतलाई आधार बनाउँदा भने लुम्बिनी प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा विपक्षी गठबन्धन र १४ वटा क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ। लुम्बिनीलाई एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिएको छ। एमाले आफ्नो यो प्रभावलाई मंसिरमा हुने निर्वाचनमा पनि कायमै राख्ने र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन त्यसलाई उल्ट्याउने रणनीतिमा छन्।  

यो विश्लेषणमा सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको मत समावेश गरिएको छैन। विपक्षी गठबन्धनमा रहेको राप्रपाले प्रतिनिधिसभा सदस्यका लागि लुम्बिनी प्रदेशका १९ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिएको छ। बाँकी ६ क्षेत्रमा राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको छ। यसलाई आधार बनाउने हो भने विपक्षी गठबन्धन लुम्बिनी प्रदेशमा अझ कमजोर देखिन्छ।

रूपन्देही र बाँकेमा मात्र विपक्षी गठबन्धनसँग मिलेर राप्रपाले उम्मेदवारी दिएको छ। बाँके २ मा धवलशमशेर राणालाई एमालेको सहयोगमा उम्मेदवार बनाएको राप्रपाले सो जिल्लामा पार्टीका अरू उम्मेदवार खडा गरेको छैन। बरु बाँके २ मा एमाले गठबन्धनमा रहेको जसपाका इस्तियाक राई प्रतिस्पर्धामा छन्। त्यस्तै सत्ता गठबन्धनबाट कांग्रेसका सुदीपनरसिंह राणा उम्मेदवार छन्। रूपन्देही ३ मा एमालेको समर्थनमा राप्रपाका दीपक बहोरा उम्मेदवार छन्। त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण प्रतिस्पर्धामा छन्। राप्रपाले रूपन्देहीका अन्य क्षेत्रमा उम्मेदवारी दिएको छैन।  

स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतलाई आधार बनाउँदा कपिलवस्तुका तीनवटै क्षेत्रमा विपक्षी गठबन्धन (एमाले, जसपा र राप्रपा) अघि छ। कपिलवस्तु २ मा १ सय मतको मात्र मतान्तर देखिए पनि अन्य दुईवटा क्षेत्रमा विपक्षी गठबन्धन अघि छ।  

दाङ २, नवलपरासी सुस्तापूर्व २, प्युठान, बाँके २, रूपन्देही २ सहितका चार क्षेत्रमा विपक्षी गठबन्धन अघि छ। लुम्बिनी प्रदेशमा एमाले र कांग्रेसले मात्र स्थानीय तहको निर्वाचनमा पाएको मत हेर्ने हो भने कांग्रेस १२ क्षेत्रमा अघि देखिन्छ भने एमाले १४ निर्वाचन क्षेत्रमा अघि छ। कांग्रेस कपिलवस्तु २, दाङ १ र ३, नवलपरासी सुस्तापूर्व १, बर्दिया २, बाँकेका तीनै क्षेत्र र रूपन्देही ४ मा अगाडि छ।  

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मत हेर्दा लुम्बिनीमा विपक्षी गठबन्धनको अवस्था गत स्थानीय तह निर्वाचनमा आउँदा सुधार भएको देखिन्छ। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा, संघीय समाजवादी फोरमले पाएको समानुपातिक मत हेर्दा विपक्षी गठबन्धन लुम्बिनीका ६ क्षेत्रमा मात्र अघि देखिन्छ। बाँकी २० निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अघि छ। विपक्षी गठबन्धन गुल्मी २, पाल्पा १, बाँके २ र रूपन्देहीका तीनवटै क्षेत्रमा अघि छ। उक्त निर्वाचनमा एमालेले १७ क्षेत्रमा सबैभन्दा बढी मत पाएको थियो। बाँकी क्षेत्रमा कांग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको थियो।  

टिकट वितरणलाई लिएर दुवै गठबन्धनभित्र असन्तुष्टि पनि देखिएको छ। एमालेले उम्मेदवार नबनाएपछि घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ। रुपन्देही १ बाट एमालेका छविलाल विक प्रतिस्पर्धामा छन्। रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार छन्। त्यहाँ नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ। बौद्धिक नेताको छवि बनाएका भुसाल एमालेबाट बाहिरिँदा रुपन्देही र त्यसक्षेत्रको मतमा कस्तो प्रभाव पर्छ अहिले नै आकलन गर्न सकिने अवस्था छैन।  

दाङ १ मा एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध गंगा चौधरी सत्गौवाले उम्मेदवारी दिएकी छन्। त्यसले पनि एमाले गठबन्धनलाई अप्ठेरो पर्ने देखिएको छ। त्यहाँ सत्ता गठबन्धनबाट (नेकपा एस) का मेटमणि चौधरी उम्मेदवार छन्। दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र माओवादीकी रेखा शर्मा, दाङ ३ मा कांग्रेसका दीपक गिरी र कोमल वली मुख्य प्रतिस्पर्धामा छन्।

कपिलवस्तु १ मा सत्ता गठबन्धनले माओवादीका चन्द्रप्रकाश खनाललाई उम्मेदवार बनाएको छ। तर त्यहाँ कांग्रेसका ललित गुरुङ बागी उम्मेदवार छन्। त्यसैगरी एमालेबाट बलराम अधिकारी उम्मेदवार छन्। कपिलवस्तु २ र ३ बाट सत्ता गठबन्धनबाट क्रमशः सुरेन्द्रराज आचार्य र अभिशेकप्रताप शाह तथा विपक्षी गठबन्धनबाट क्रमशः वृजेशकुमार गुप्ता र मंगलप्रसाद गुप्ता उम्मेदवार छन्।

बर्दिया २ मा पनि सत्ता गठबन्धनबाट उम्मेदवार भएका माओवादीका सुरेश पन्तविरुद्ध कांग्रेसका रामप्रसाद आचार्य बागी छन्। विपक्षी गठबन्धनबाट पंकजसिंह राठोर उम्मेदवार छन्। बर्दिया १ मा कांग्रेसका सञ्जय गौतम र विपक्षी गठबन्धनबाट लक्ष्मणराज ज्ञवाली उम्मेदवार छन्।  

गुल्मी १ मा विपक्षी गठबन्धनबाट प्रदीप ज्ञवाली र सत्ता गठबन्धनबाट चन्द्रकान्त भण्डारी, गुल्मी २ मा सत्ता गठबन्धनबाट रामकुमारी झाँक्री र विपक्षी गठबन्धनबाट गोकर्ण विष्ट, प्युठानमा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र विपक्षी गठबन्धनबाट सूर्य थापा प्रतिस्पर्धामा छन्। नवलपरासी पश्चिम १ बाट कांग्रेसले विनोद चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेले पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई सहयोग गरेको छ। दुवै गठबन्धनभित्रको आन्तरिक किचलोले नेतृत्वलाई पिरोलेको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ००:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App