राजनीति

गृहमन्त्री खाँणलाई बामदेवको एकता अभियानको साथ

बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ।  

सो पार्टीले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाइ सहयोग गर्ने जानकारी गराएको हो। अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको नेपाली काँग्रेस र पार्टीका  नेता तथा गृहमन्त्री खाँणलाई सहयोग गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले जानकारी दिए।  

उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए। उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत नेता खाँणलाई आउने बताए।  

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने समेत बताए।  

प्रकाशित: २६ कार्तिक २०७९ १३:४७ शनिबार

बामदेव गौतम एकता अभियान