राजनीति

सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्माः प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तामा रहेका दलहरुलाई नवसामन्तवादका प्रेतात्माको संज्ञा दिएका छन्।

शुक्रबार काठमाडौँमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष लोहनीले सत्तारुढ दलहरुलाई नवसामन्तवादको प्रेतात्माको संज्ञा दिएका हुन्। उनले सत्तारुढ पार्टीहरुले खाने काम गरिरहेको भन्दै भ्रष्टाचारको दुर्गन्ध देशभर फैलिएको बताए।

उनले नेपालबाट सामन्तवाद सकिएको भएपनि नवसामन्तवादको उदय भएको बताए। विगतमा सामन्तवाद जमिनको कुत आएर बाँचेको उल्लेख गर्दै उनले नवसामन्तवाद भने विकासको लागि आएको रकमको कुत खाएर बाँचेको टिप्पणी गरे। उनले देशको स्थिति लथालिङ्ग भएकाले सो स्थितिलाई बदल्न परिवर्तन आवश्यक रहेको बताए। डा. लोहनीले देशमा यही स्थिति रहीरहे अराजकता र अशान्ति बढेर जाने बताए।

उनले भने, ‘अहिले लथालिङ्ग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ। सत्तामा बसेका जति पार्टी छन् उनीहरुले खाने काम गरेका छन् अहिले। अग्रगामीहरुले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ अहिले। यि नवसामन्तवादका प्रेतात्माहरु जहाँतहीँ देखिन लागेका छन्। नवसामन्तवादका प्रेतात्मा हुन् उनीहरु। सामन्तवाद नेपालबाट गइसक्यो। तर सामन्तवादमा जमिनको कुत खान्थे सामन्तहरुले। जमिनको कुतबाट बाँचेका थिए। अहिलेका नवसामन्तहरु तपाईको विश्वास लिएर, तपाईको मत लिएर नवसामन्तहरुले विकासको लागि आएको रकमको कुत खाएर बसिरहेका छन्। बढीभन्दा बढी कुत खाएर बसिरहेका छन्। त्यसैले यो स्थितिलाई बदल्नको लागि अब परिवर्तन आवश्यक छ। शान्तिपूर्ण परिवर्तन भएन भने इतिहासले कसैलाई छोड्दैन। अग्रगामीहरुको दुर्गन्धले यही तरिकाले देश बिग्रेर जाने हो भने नवसामन्तवादको क्रियाकलापले देश यसैगरी बिग्रेर जाने हो भने यो देशमा अशान्ति हुन्छ। अराजकता बढेर जान्छ।’

डा. लोहनीले जनताले सत्तारुढ दलहरुलाई गरेको विश्वासको दुरुपयोग भएको बताए। उनले सत्ता र शक्तिको दुरुपयोग नगर्न खबरदारी गर्दा आफूहरुलाई पश्चगामीको ट्याग लगाइएको बताए। उनले संविधानको उल्लंघन गर्नु र भ्रष्टाचार गर्नु अग्रगमन हो? भन्ने प्रश्न समेत गरे।

उनले राज्यको हरेक निकायमा भागबन्डा गरेर नियुक्ति दिने र भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको बताए। उनले देशमा राष्ट्रवादी र देशभक्त शक्ति आवश्यक रहेको उल्लेख गर्दै त्यो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र भएको बताए। आफूहरुलाई जनताले संसदमा पुर्‍याएमा जनताको विश्वासमाथि घात नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: २५ कार्तिक २०७९ ११:४९ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टी