राजनीति

गठबन्धनले खारेज गरेका सबै लोकप्रिय कार्यक्रम एमालेले ब्युँताउँछ: केपी ओली

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि गठबन्धनले खारेज गरेका सबै लोकप्रिय कार्यक्रम एमालेले ब्युँताउने बताएका छन्।

शुक्रबार झापाको शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा ठेक्का लगाएको काम मात्र अगाडि बढिरहेको बताएका हुन्। ‘एमाले सरकारमा हुँदा जति ठेक्का लगाएको थियो त्यहाँ मात्र काम भइरहेको छ’, ओलीले भने, ‘तर मंसिर ४ पछि गठबन्धनले खारेज गरेका सबै लोकप्रिय कार्यक्रम एमालेले ब्युँताउने छ।’

ओलीले झापाको पहिलो विकास राजा महेन्द्रले पहिलो पटक २०२० सालमा बाटो खोलेर गरेको खुलासा गरे।  

उनले भने, ‘चन्द्रगढीबाट तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्र कलवलगुडी, गरामनी, विर्ताबजार, घैलाडुब्ब डाँगीबारीदेखि शिवगञ्जसम्म धागो तानेजस्तै गरेर ल्याएका थिए। त्यतिबेला पूर्व(पश्चिम राजमार्ग र हुलाकी सडक बन्ने छाँट थिएन। यहाँका पुराना साथीलाई थाहा हुन सक्छ। त्यतिबेला अहिलेका जस्ता पक्की पुल थिएनन्। बाँसका लच्किने पुल थिए’, ओलीले भने, ‘राजा महेन्द्रले खोलेको बाटोलाई मंसिर ४ पछि एमालेले पूर्णता दिनेछ।’  

उनले आफू कनकाई र विरिङ खोलामा पौडी खेलेर हुर्किएको मान्छे भएकोले यस ठाउँको माया अझै ताजै रहेको बताए। उनले भने, ‘यहाँ भूमिगत हुँदाका स्मरण मेरो मानसपटलमा अझै ताजा छन्।’

प्रकाशित: २५ कार्तिक २०७९ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App